PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

'कम्युनिस्टले झुटा नारा बाँडेर जनतालाई झुक्याए, सरकार सुविधा हैन, टुक्का सुनाएर मनोरञ्जन दिँदै'



चन्द्रकान्त खनाल

'कम्युनिस्टले झुटा नारा बाँडेर जनतालाई झुक्याए, सरकार सुविधा हैन, टुक्का सुनाएर मनोरञ्जन दिँदै'

रुपन्देही: ३६ औं वीपी स्मृति दिवसको अवसरमा आज रुपन्देहीमा वृक्षारोपण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा गैडहवा गाउँपालिका वडा ३ सगरहवा ताल वरपर  वृक्षारोपण गरिएको हो।

नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेताहरुले वीपीले देखाएको बाटोमा नेपाली कांग्रेस सधैं हिड्नु पर्ने धारणा राखे। कार्यक्रममा विश्वबाट हराउँदै गएको कम्युनिष्टले नेपालमा नारा बेचेर नेपाली जनतालाई झुक्याएको महतले आरोप लगाए।

सपनाका झुटा पोका बाँडेर नेपालमा कम्युनिष्ट मौलाएको दाबी समेत गरे। विचार असफल भएका कम्युनिष्टले कहिले एमाले, कहिले माओवादीको नाममा नेपाली जनतालाई झुटा सपना बाँडेर मौंलाउँदै गएको डाक्टर महतले आरोप लगाए।

कम्युनिष्ट सरकारले एकाधिकारवाद, सर्वसत्तावाद कायम गरेकाले लोकतन्त्र खतरामा पुगेको उल्लेख गर्दै डा महतले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको समयमा बृद्धभत्ता ५ हजार बनाईदिने सपना बाँडेर जनतालाई झुक्याएको दाबी गर्दै जर्वजस्ती शासन गरेको बताए।

निर्वाचन नमान्ने कम्युनिष्टहरुलाई नेपाली कांग्रेसले जर्वजस्ती निर्वाचनमा लगेको महतले बताउँदै कम्युनिष्टहरुको मनोरञ्जनको पछाडि जनताले भोट दिएको दाबी गरे। उखान टुक्काले देश समृद्धितर्फ नजाने भन्दै अहिलेको सरकार जनतालाई सुबिधा दिन भन्दा पनि मनोरञ्जन दिनतर्फ लागेको सहमहामन्त्री महतले दाबी गरे।
 
पार्टी नै सरकार र सरकार नै पाटी हो भन्ने सोचले गर्दा ओली नेतृत्व सरकार निरंकुशतातर्फ उन्मुख भएको उनको तर्क थियो। नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा  प्रदेश सभा सदस्य ओशुन्धिन खान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, प्रदेश सभा सदस्य पुष्पा थरुनी लगायतले धारणा राखेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell