PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रेमबारे साम्राज्ञी भन्छिन्, 'जीवनमा कति जना आउँछन् कति जना जान्छन्'

प्रेमबारे साम्राज्ञी भन्छिन्, 'जीवनमा कति जना आउँछन् कति जना जान्छन्'

रीना मोक्तान/पहिलोपोस्ट


'ड्रिम्स', 'ए मेरो हजुर २' लगायत फिल्ममार्फत चिनिएकी अभिनेत्री साम्राज्ञी शाहले ६ वटा फिल्म गरिसकेकी छिन्। छोटो समयमै व्यस्त बनेकी र सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ बटुलेकी उनको इन्डस्ट्रीमा इन्ट्री भने फिल्मको कथा जस्तै लाग्छ। 

सानैदेखि ऐनामा हेरेर नाच्ने, काल्पनिक संवाद बोल्ने उनको बानी थियो। उनको बालपनका ती चुलबुलेपन बुवाले कैद गर्थे भिडियोमा। पुराना कुराहरु सम्झिए जसरी भन्छिन्,'हिरोइन हुनका लागि पो म पहिलेदेखि त्यस्तो रहेछु।'  

साम्राज्ञीको 'ड्रिम' थियो एयर होस्टेस बन्‍ने तर सपनाको उडान भर्नु अघि उनले नदेखेको सपनाले उनलाई पच्छ्यायो। त्यो अकल्पनीय सपना अर्थात् 'ड्रिम्स'- उनको पहिलो फिल्म। फोटो हेरेको भरमा भुवन केसीले उनको नयाँ प्रोजेक्टमा चाहिनेजस्तै अभिनेत्री देखे साम्राज्ञीमा। प्रस्ताव पुग्यो साम्राज्ञीकी आमा नेहा शाहसम्म। 

'मामुले मलाई सोध्नु भयो।' 

प्लस टुको परीक्षा सकेर बसेकी उनको लागि फिल्म समयको राम्रो उपयोग गर्ने माध्यम बन्यो फिल्म। भन्छिन्,'मैले हस् भने।' अडिसनमा पनि सहभागी भएकी अब्बल ठहरिइन्। 

उनको परिवारमा अरु कोही पनि फिल्म लाइनमा थिएनन्। बुवाले भने वर्षौँ अघि खुकुरी चुरोटको विज्ञापनमा अभिनय गरेका थिए। तर पनि साथ र समर्थन रह्यो। 'मलाई पहिलो फिल्म नै चल्छ। त्यपछि मैले अभिनयमै निरन्तरता दिन्छु भन्ने सोचेको थिइन।'

अडिसनको एक वर्षपछि मात्र उनको फिल्ममा डेब्यु भयो। तर त्यसबीचमा उनले मोडलिङ गरिन्। क्लासिक डायमण्डको लागि भएको प्रतियोगितामा दोस्रो घोषित भइन्। 'त्यो प्रतियोगिताले ममा कन्फिडेन्ट थपिदियो। मिडियामा प्रस्तुत हुँदा पसिना पसिना हुन्थेँ त्यो सबै कम भयो।'

भर्खर १८ वर्षकी थिइन् इन्डस्ट्रीमा इन्ट्री गर्दा। ड्रिम्स सफल हुनुले चाहिँ उनको करियर प्लान फिल्म क्षेत्रसँगै जोडिएर बन्न थाल्यो। अहिले उनले मिडिया फेस गर्न पनि सिकिसकेकी छिन्। पहिलोपोस्टसँगको संवादका क्रममा उनी प्रस्तुत भएको शैलीले प्रष्ट पार्छ।  

महिनामा २५ वटा स्क्रिप्ट नकार्छिन्

साम्राज्ञी अब फिल्म क्षेत्रमै मिहेनत गर्न जोसिएकी छिन्। उनलाई लाग्छ- जेमा हात हालिन्छ त्यसमै राम्रो गर्ने। फिल्महरु सफल भएसँगै उनलाई खोज्ने निर्माता निर्देशक पनि बढेका छन्। अहिले महिनामा २०/२५ वटासम्म स्क्रिप्ट आउने बताउँछिन् उनी। भन्छिन्,'तर सबै मन पर्दैनन्। मन परेकामा काम गरेँ। कुनैमा पछुतो छैन।'  

साम्राज्ञी प्रोजेक्ट सक्किएपछि उक्त फिल्मसँग जोडिएकालाई समय दिन रुचाउँदिनन्। 'मेरो बानी हो। साथै अर्को प्रोजेक्टमा ध्यान दिन पनि दूरी राख्ने गरेको हुँ।' 

पारिश्रमिकमा भाग्यमानी  

साम्राज्ञी धेरै पारिश्रमिक लिने अभिनेत्री मध्यकी एक हुन्। 

'काम गरे अनुसार पैसा नहुने इन्डस्ट्रीमा मैले डिमान्ड गरे अनुसार पाउँछु। यस मानेमा म भाग्यमानी छु।' 

एउटा कुरा चाहिँ उनलाई अचम्म लाग्‍छ- निर्माता स्वयंले दिएको पारिश्रमिकबारे कुरा नगर्नु भन्छन्। तर पारिश्रमिक नै समाचार बनेर आउँछ। 
उनी फिल्म निर्माताहरुबाट कति पैसा लिन्‍छिन्? त्‍यो भने खुलाउन चाहँदिनन्। भन्छिन्,'टिम हेरेर कुरा हुन्छ। मागे जति दिँदैनन् भने सीधै नमस्ते भनेर पठाइदिने हो।' 


इन्डस्ट्रीमा छैनन् मिल्ने अभिनेत्री साथी 

साम्राज्ञी अन्तरमुखी स्वभावकी छिन्। उनी आफैँ स्विकार्छिन्- म सधैं रिसाएजस्ती देखिन्छु। तर, मलाई कसैको रिस भने छैन। 
उनी फिल्म क्षेत्रको कसैसँग नजिक छैनन्। प्राय अभिनेत्रीहरुसँग कार्यक्रम र सभा समारोहमा भेट हुने उनी केहीसँग भने कहिले काहिँ फेसबुकमा कुरा हुने गरेको बताउँछिन्। 

'जसितासँग हो फेसबुकमा कुरा हुने', उनी केही खुल्छिन्,'कहिले पनि कुरा नहुने अभिनेत्रीहरु पनि आफ्नो फिल्म प्रदर्शन ताका प्रमोसनका लागि आग्रह गर्छन्।' 

आफ्नो फेसबुक वालमा अरुको फिल्मको पोस्टर सेयर गर्न नरुचाउने उनी भन्छिन्,'त्यस्ता केही देख्दा मान्छे चिन्दैछु भन्ने लाग्छ।' 

आर्यनको लेखनमा 'कायरा'

अहिले अभिनेता आर्यन सिग्देलको लेखन रहेको फिल्म 'कायरा'मा साम्राज्ञी अभिनेत्री हुन्। प्रदर्शनको तयारीमा रहेको फिल्मको कथा मन परेर काम गरेको बताउँछिन्। 'स्क्रिप्ट मन परेपछि कसैले जे भने पनि हट्दिन। कायरा गर्छु भनेपछि मेरो वरिपरिका सबैले किन गर्नुपर्‍यो भन्नु पनि भयो। तर मैले गर्ने निधो गरेँ।'

उनी दर्शकले कथासँगै आर्यन र आफ्नो स्क्रिन जोडी रुचाउने आशा व्यक्त गर्छिन्। 

फिल्ममा उनी नै कायरा हुन्। अभागी प्रेमिका। केही थप जानकारी दिन्छिन्, 'कायरा र जय सबै कुरामा राम्रो भए पनि मायामा अभागी।'  
फिल्म गर्दा आर्यनबाट धेरे कुरा सिकेको बताउँछिन्। आर्यनको 'मेरो एउटा साथी छ' 'नोभेम्बर रेन' उनलाई मन परेको फिल्म हो। अन्य फिल्ममा आफ्ना सह-अभिनेतालाई सिकाउनु परे पनि आर्यनबाट उनले सिक्ने अवसर पाएकोमा खुशी छिन्। 

कायराको काम सकेर बसेकी उनी अब भने केही समय खाली बस्न चाहन्छिन्। अहिले उनको हातमा कुनै प्रोजेक्ट छैन। 'कामको नशा लागेको छ तर अब २ महिना जति रेस्ट लिन्छु।'


मयंक खड्कासँगको प्रेम?  'विश्वास छैन माया छैन' 

साम्राज्ञी आफ्नो प्रेमी मयंक खड्कासँगको ब्रेकअप स्विकार्छिन्। तर, उक्त विषयमा धेरै बोल्न चाहँदिनन्। 

साम्राज्ञी प्रेम सम्बन्ध भनेको विश्वास र सहयोगको समीश्रण हो भन्छिन्। 

'जुन सम्बन्धमा विश्वास छैन त्यहाँ माया हुँदैन', उनी केही संयमित सुनिन्छिन्। मयंक र उनका विवादस्पद समाचारलाई उनी सामान्य लिने गर्छिन्। 
'एउटा कानले सुन्छु अर्कोले उडाउँछु', भन्छिन्,'जीवनमा कतिजना आउँछन् कति जना जान्छन्। त्यो जिन्दगीको खुड्किलो हो। मयंकको विषयमा भन्न मन लागेको बेलामा भन्छु। मैले हिजो पनि विवादस्पद समाचार आउँदा बोलिन आज पनि बोल्दिन।' 


ट्रेन्डिङ पोस्ट

Ncell