PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

सलमान खानले डुबाए कि विप्लवले? : १० दिनदेखि 'दब्याङग टुर' का आयोजक थुनामा



सविन ढकाल

सलमान खानले डुबाए कि विप्लवले? : १० दिनदेखि 'दब्याङग टुर' का आयोजक थुनामा

काठमाडौँ : १० दिनदेखि सीमान्त गुरुङ प्रहरीको हिरासतमा छन्। ओडिसी नेपालका सञ्चालक गुरुङमाथि बलिउड कलाकार सलमान खान ल्याउने भन्दै टिकट बिक्री गरेर ठगी गरेको आरोप छ।

टिकट बिक्री गरेको रकम फिर्ता नगरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई असार २९ गते पक्राउ गरेको थियो। 

प्रहरीको लिखित बयानमा भने गुरुङले आफुले रकम ठगी नगरेको र सबै रकम फिर्ता गरेको बताएका छन्। उनले टिकटको रकम फिर्ता लिन आउने जति सबैको रकम फिर्ता गरेको त्यसमा ७ लाख रुपैयाँमात्र फिर्ता गर्न बाँकी रहेको बताएका छन्।

प्रहरी नियन्त्रणमा रहेका गुरुङले आफूले सलमान खानलाई ल्याउन भारतीय ३ करोड रुपैयाँसमेत बुझाएको बताएका छन्। प्रहरीको बयानमा गुरुङले भनेका छन्, 'जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, राष्ट्र बैंक विदेशी मुद्रा शाखामा निवेदन दिई स्वीकृति पाएपश्चात् उक्त कार्यक्रम तय भएको थियो। सलमान खान लगायत अन्य कलाकारको लागि नेपाल एसबीआई बैंकमार्फत् पटक-पटक गरी सरकारलाई १५ प्रतिशत मनोरञ्जन कर  बुझाई तीन करोड भारतीय रुपैयाँ पठाएको हुँ।'

गत फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग टुर नेपाल' स्थगित हुन पुगेको थियो। गुरुङको बयानमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको कारण कार्यक्रम नभएको बताएका छन्। सलमान खानले आफू नेपाल आउन राजी भएको बताएपछि उनले टिकट बिक्री गरेका थिए। ३ हजारदेखि २० हजार रुपैयाँसम्मको ४८ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको जानकारी उनले दिएका छन्।

माओवादीको थ्रेटको कारण कार्यक्रम फागुनबाट जेठ १२ मा सरेको थियो। जेठ १२ मा पनि कार्यक्रममा भएन। गुरुङकी श्रीमतीले प्रहरीमा दिएको जानकारी अनुसार सलमान खान विप्लवको थ्रेट भए पनि नेपाल आउन तयार थिए। तर फेरि केही भारतीय मिडियमा समाचार आएपछि सलमान हच्किएको उनको भनाई छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विनाशकारी भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु थियो। 

महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell