
काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध पाँच उजुरी दर्ता भएका छन्। उजुरीमध्ये केही कार्यसम्पादनसँग जोडिएका छन्। कतिपय विषयवस्तु उनले गरेको आदेशसँग जोडिएका छन्।
नितान्त व्यक्तिगत विषयसमेत समेटिएका दुई उजुरी छन्।
उजुरी १
उजुरकर्ताले प्रधानमन्त्री, प्रधानन्यायाधीश निवास बालुवाटारसँगै जोडिएको सार्वजनिक जग्गा व्यक्तिका नाममा हुनेगरि आदेश गर्नेमध्येका एक न्यायाधीश जोशी भएको आरोप लगाएका छन्। मुआब्जा समेत वितरण भइसकेको अवस्थामा सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने आदेश मौजुदा भूमिसुधार ऐन विपरीत समेत भएको उजुरीकर्ताको जिकिर छ।
उनले एक व्यक्तिगत विषयसमेत उजुरीमा समेटेका छन्। प्रस्तावित प्रधानन्यायाधीश जोशी इजलासमै निदाउने र सूर्तीजन्य पदार्थ सेवा गर्ने आरोप लगाएका छन्।
उजुरी २
अदालतमा विचौलिया भनेर चिनिएकासँग जोशीको साँठगाँठ छ। रणनीतिक मुद्दा आफू निकट न्यायाधीशलाई तोक्ने गरेको आरोप छ। उजुरीकर्ताले जोशीले छोराको विवाहमा ९० लाख रुपैयाँ खर्च गरेको आरोप लगाएका छन्। उक्त खर्च रकमको भुक्तानी बैङ्किङ प्रणालीबाट नभएकाले स्रोतबारे सोधपुछको माग उनले गरेका छन्। यस्तै, छोरीको इन्जेगमेन्टमा २० लाख खर्च गरेको भन्दै उजुरीकर्ताले प्रश्न गरेका छन्।
उजुरी ३
तेस्रो उजुरी सैदान्तिक र व्यक्तिगत विषयमा छ। उजुरीकर्ताले न्यायालयमा स्वच्छ छविका व्यक्तिको नेतृत्वमा हुनुपर्नेमा जोशीमा त्यो छवि नभएको टिप्पणी गरिएको छ। विवादस्पद व्यक्तिसँगको जोशीको सम्बन्ध र हालै छोराको विवाहमा भएको खर्च रकमबारे पारदर्शितामा उजुरीकर्ताले प्रश्न उठाएका छन्।
उजुरी ४
विशाल बजारको सेयर स्वामित्व विवाद मुद्दामा पनि जोशीलाई जोडिएको छ। यस्तै, सटर भाडामा दिने सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका रवीन्द्रलाल श्रेष्ठको मुद्दा पुनरावलोकन निस्सा जोशीसहितको इजलासले दिएकोबारे पनि उजुरीकर्ताको चासो छ। संस्थागत सुशासनको विपक्षमा निस्सा प्रदान गरिएको उजुरीकर्ताको आरोप छ।
उजुरी ५
अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो चलेको र त्यस्ता आदेश न्यायिक नेतृत्वकै स्वार्थमा भएको उल्लेख छ। यस्तै, ६१ अर्बभन्दा बढी राजस्व तिर्नु नपर्ने गरी अदालतले जारी गरेको अन्तरिम आदेशमध्ये जोशीको इजलासबाट ५ अर्बभन्दा बढी राजस्व तिर्नु नपर्नेगरि आदेश भएको उजुरीमा उल्लेख छ।