PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'१५ लाख फिरौती लिएर पनि अपहरित बालक अंकितको हत्या'



राधेश्याम पटेल

'१५ लाख फिरौती लिएर पनि अपहरित बालक अंकितको हत्या'

वीरगंजः बाराबाट डेढ महिनाअघि अपहरणमा परेका ९ वर्षीय बालक अंकित गुप्ताको हत्या भएको रहस्य खुलेको छ। बारा प्रहरीका अनुसार अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको हो।

गण्डक नहरको रघुनाथपुर क्षेत्रबाट पर्सा प्रहरीले साउन ३ गते नै शव फेला पारे पनि पहिचान हुन सकेको थिएन। अंकितले लगाएको लकेटका आधारमा शव अंकित गुप्ताकै भएको बारा प्रहरीले भनाई छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गरी महानगरका प्रतिनिधिको रोहबरमा मितेरी पुल नजिक शव गाडिएको थियो।

‘घटनामा संलग्न हामीले तीन जनालाई समातेको छौँ। उनीहरूको बयान र शवससँग फेला परेको लकेटको आधारमा अंकितको हत्या भएको हाम्रो आशंका छ’ बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘शवबाट दाँत र हड्डी झिकेर डिएनए परीक्षणको लागि पठाएका छौँ। दुई हप्तापछि हत्याको वास्तविक रहस्य थाहा हुनेछ।'

पक्राउ परेका तीन जनाविरुद्ध आज बारा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता हुँदैछ। प्रहरीले पक्राउ परेका तीन जनाको नाम सार्वजनिक गरेको छैन।

तर घटनामा अजय पटेल, वीरगंज रानीघाटका रामनरेश साह र ताज मियाँलगायत पक्राउ गरी अनुसन्धानको दायरमा रहेको प्रहरी स्रोतले बताएको छ। मुद्दा दर्ता भइसकेपछि हत्या प्रकरणमा संलग्नको नाम खुलाउने डिएसपी राठौरले बताए ।

 

यस्तो थियो घटना

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारका गल्ला व्यवसायी ललनप्रसाद गुप्ताको छोरा अंकितको जेठ २२ गते साँझ साथीको घरमा खेल्न गएको बेला अपहरण भएको थियो। अपहरणको चार दिनपछि भारु डेढ करोडको फिरौतीको माग भएको थियो।

फोनमा निरन्तरको धम्की आउन थालेपछि १५ लाख नेपाली रुपैयाँमा अंकितलाई अपहरणमुक्त गर्ने आश्वासन अपहरणकारीले दिएका थिए। सोही असार असार ३२ गते अंकितका आमा संगीता देवी र निजका दुई जना आफन्तसमेतले भारत, बिहार मोतिहारीमा गएर १५ लाख रुपैयाँ दिएर नेपाल फर्किएका थिए। तर अंकित घर फर्केनन्।

घटनाबारे परिवारले जेठ २३ गते नै इलाका प्रहरी कार्यालय जितपुर, सिमरामा उजुरी दिएका थिए। प्रहरीले प्रभावकारी ढंगले अनुसन्धान नगरेको आरोप परिवारले लगाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell