
काठमाडौँः विवादस्पद अभिव्यक्तिको आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने तयारी गरेका छन्। पार्टीको निर्देशनमा मन्त्री तामाङले राजीनामाको तयारी गरेका हुन्। उनले २ बजे पत्रकार सम्मेलनमार्फत आफूले सबै कुरा सुनाउने प्रतिक्रिया दिए।
पहिलोपोस्टसँगको कुराकानीमा तामाङले भने, 'दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिन्छु।'
पार्टीको निर्णय हो कि तपाईँ स्वयंमको भन्ने प्रश्नमा मन्त्री तामाङले सम्पूर्ण कुरा पत्रकार सम्मेलनमा नै जानकारी दिने बताए।
कानुनमन्त्री निकट स्रोतले भने राजीनामा दिन लागको बताएको छ।
बंगलादेशमा एमविविएस अध्ययन गर्ने छात्राका विषयमा तामाङले दिएको अभिव्यक्ति आलोचित बनेको थियो। अभिव्यक्तिबारे माफी मागे पनि प्रधानमन्त्रीले मंगलबार बेलुकी मन्त्री तामाङलाई बोलाएर अभिव्यक्तिबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीसँगै नेकपाका नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले तामाङलाई राजीनामा दिन सुझाएका थिए।
तामाङ चैत २ गते मन्त्री नियुक्त भएका थिए।