
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूले दिएका अभिव्यक्तिको निगरानी गरिरहेको जनाएका छन्।
मङ्गलवार पार्टी कार्यालय आयोजित प्रशिक्षणमा ओलीले मन्त्रीहरूको अभिव्यक्तिबारे ध्यान दिएको बताएका हुन्। उनले भने, 'केही मन्त्रीहरूको अनुपयुक्त बोलाइबारे मेरो पनि ध्यान गएको छ। यसको सम्बन्धमा विधिसम्मत उपचार हुन्छ।प्रधानमन्त्रीको हैसियतले मैले बुझ्नुपर्छ।'
केही दिनअघि बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने छात्राका विषयमा कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति आलोचित बनेको थियो। यही विषयलाई लिएर पार्टीको निर्देशन बमोजिम मन्त्री तामाङले मङ्गलवार राजिनामा दिने भएका हुन्।
त्यस्तै प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीको आन्दोलमा प्रतिपक्ष दलले राजनीति गर्न खोजेको आरोप लगाए। अस्पताल हातमा गोली नै नचलाइ गोली चलेको हल्ला फिजाएको समेत बताए। प्रधानमन्त्री ओलीले भने, 'असम्बधित व्यक्तिले अवरोध गर्ने किन? उहाँहरूको राजनीतिको रोटी सेक्ने ठाउँ हो? वार्ता गर्न उहाँलाई नदिने, अरू आउने, उहाँको उपचार गर्न सरकारलाई नदिने अरू आएर छेक्ने कस्तो परिदृष्य?’ उनले यतिखेर साना मसिना कुरा अल्झिनु नहुने बताएका थिए।