
काठमाडौं : नेपाली कामदारहरूलाई मलेसिया पठाउन क्रममा भएको भ्रष्टाचारको अभियोगमा मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको त्यहाँका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले बताएका छन्।
नेपाली कामदारहरू मलेसिया लैजाने क्रममा त्यहाँको सरकारले संस्थागत रूपमा भ्रष्टाचार गरेको भन्दै उनी र उनको परिवारमाथि अभियोग लागेको छ।
‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि शक्तिको दुरुपयोग गरेको वा परिवारको कुनै पनि सदस्यको यसमा संलग्नता छैन भन्ने प्रमाणित गर्न वा म त्यसमा सामेल छैन भन्ने प्रमाणित गर्नका लागि पनि म अनुसन्धानको सामना गर्न तयार छु’, उनले सोमबार त्यहाँको संसद् परिसरमा पत्रकारहरूसँग भनेका छन्।
खोज पत्रकारिता केन्द्रले ‘राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरिब नेपालीको ५ अर्ब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सोही समाचारलाई अंग्रेजीमा अनुवाद गर्दै नेपाली टाइम्सले प्रकाशित गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
समाचारमा नेपालका उच्च अधिकारीका साथै मलेसियाको पूर्ववर्ती सरकारका अधिकारी र तीनका परिवारका सदस्यहरुको मिलेमतोमा गरिब नेपाली कामदारहरूबाट ५ अर्ब रुपैयाँ (१८५ मिलियन आरएम) लुटिएको उल्लेख छ।
रिपोर्टमा पूर्व गृहमन्त्रीसमेत रहेका पूर्व उपप्रधानमन्त्री अहमद जाहिदले निजी कम्पनी ‘अल्ट्रा किनारा एसडीएन बीएचडी’सँग आउटसोर्स गरी मलेसियामा जाने कामदारहरूबाट अवैध रूपमा अर्बौँ लुटेको उल्लेख छ।
२०७० भदौ देखि मलेसिया गएका ६ लाख ९ हजार ८७९ जना कामदारले विभिन्न शीर्षकमा पैसा तिर्नुपरेको सीआईजेको रिपोर्टमा उल्लेख छ। भिसा प्रोसेसिङ शुल्कबापत तीन हजार २०० रुपैयाँ र स्वास्थ्य परीक्षका लागि वायोमेट्रिक परीक्षण गर्न चार हजार ५०० असुल गरिएको थियो।
त्यस्तै कामदारको राहदानी र हातको फिंगरप्रिन्टका लागि समेत तीन हजार २०० रुपैयाँ असुलिँदै आएको थियो। मलेसिया जाने कामदारको विवरण अनलाइन सफ्टवेयर प्रणालीमा दर्ता गर्नका लागि भन्दै थप ३ हजार ५०० रुपैयाँ उठाउन थालिएको थियो। त्यस्तै कामदारको राहदानी संकलन गर्नका लागि ३ हजार २०० रुपैयाँ समेत लिइएको थियो।
जसबापत यो पाँच वर्षमा मलेसिया पुगेका नेपालीको पाँच अर्ब ३५ लाख रुपैयाँ लुटिएको थियो। यसमा नेपाली र मलेसियाली सरकारी अधिकारीको मिलेमतो रहेको तथ्य समाचारमा उल्लेख छ।
आफू र आफ्नो परिवार माथि यस्तो आरोप लागे पछि पूर्वउपप्रधानमन्त्री अहमद जाहिदले आफू अनुसन्धानको लागि तयार भएको प्रतिक्रिया दिएको मलेसियाको दी स्टार अनलाइनले जनाएको छ।
यसरी नेपालीबाट अर्बौँ लुट्नका लागि नेपाली कामदारहरूका लागि वायोमेट्रिक स्वास्थ्य परीक्षण लाई अनिवार्य गर्दै त्यहाँको ‘बेस्टिनेट एसडीएन बीएचडी’ ले जिम्मा पाएको थियो। जुन अहमदका बहिनी ज्वाइँ अमिन अब्दुल नुरको कम्पनी हो।
रिपोर्टमा उनका अहमदका भाइ अब्दुल हाकीम अहमदी र पूर्व प्राकृतिक स्रोत तथा वातावरण मन्त्री तान सिरी अज्मी खालिदको समेत यो कम्पनीमा सेयर रहेको उल्लेख छ।
पूर्वउपप्रधानमन्त्रीले आफ्ना कुनै पनि बहिनी तथा अन्य परिवारका सदस्य को संलग्नता नभएको समेत उनले दाबी गरेका छन्। ‘यसमा मेरो संलग्नता छैन, यो मेरो पनि होइन,’ उनले दाबी गरेका छन्, ‘यो बंगलादेशीसँग सम्बन्धित छ।’
उनले आफ्ना ज्वाइँको समेत सो कम्पनीमा कुनै शेयर नभएको दाबी गरेका छन्। उनले कम्पनी आफू गृहमन्त्री नहुँदै सञ्चालनमा रहेको उनले दाबी गरेका छन्। उनले आफू एमएसीसीको अनुसन्धान देखि नडराएको समेत बताएका छन्।