काठमाडौं : 'सुनसरी जिल्लामा सस्तोमा जग्गा किनेर महँगोमा बेच्यो भने फाइदै फाइदा।' मनोज कुमार चौरसियाले अभिषेक सिंहलाई सुनाए।
उनीहरुले सस्तो जग्गा भन्दै कीर्ते कागज बनाएर महँगोमा बेच्ने रणनीति बुन्दै थिए। जग्गा किन्ने ब्यक्तिले कीर्ते भएको थाहा पाएर पुलिस केस गरे के गर्ने नि? प्रश्न उठ्यो।
यत्तिकैमा सिंहले अर्को योजना फुराए - हत्या गर्ने।
फेरि अर्को प्रश्न कसरी?
विष खुवाएर।
सिंहले विभिन्न वनस्पती मिसाएर मन्द विष बनाउने योजना सुनाए। यो योजना नख्खु कारागारभित्र बुनिँदै थियो। योजनाकार थिए दुई कैदी - बैंकिङ कसुरमा ललितपुरको नख्खु कारागारभित्र रहेका मनोज र अभिषेक।
योजना अनुसार नै सिंहले धुव्रकृष्ण शर्माको सहयोगमा कारागारबाट विष बनाउन आवश्यक वनस्पती मगाउन सुरु गरे। शर्मा केही समय अगाडिमात्र सोही जेलबाट चोरी मुद्दामा धरौटी बुझाएर छुटेका थिए। धरौटीको आवश्यक रकम सिंहले नै उनलाई जुराइदिएका थिए।
आवश्यक वनस्पती र केमिकल आएपछि सिंहले कारागारभित्र नै विष बनाउन शुरु गरे। केही समयपछि बीष तयार भयो। ‘पोइजन : मेड इन नक्खु कारागार’। विष तयार त भयो तर काम गर्छ कि गर्दैन?
परीक्षणका लागि उनीहरु लाई चाहियो ‘गिनी पिग’। कैद भुक्तान गरिरहेकै भक्तबहादुर सुनवार उनीहरुको रोजाइमा परे। सुनवार कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका थिए।
गएको वैशाख १९ गते खानामा मिसाएर सुनुवारमाथि परीक्षण गरियो। यो षड्यन्त्रको कुनै सुइँको नपाएका सुनवारले थाहै नपाई विष खाइसकेका थिए। खाना खाएको केही समयमा नै विषले करामत देखाउन थाल्यो। सुनवारलाई बान्ता हुन थाल्यो। ज्वरो पनि शुरु भयो।
उनलाई कारागार भित्रको स्वास्थ्य परीक्षण केन्द्रमा लगियो। त्यहाँ प्रारम्भिक उपचारमात्र भयो। भोलिपल्ट २० गते उनलाई वीर अस्पतालमा भर्ना गराइयो। त्यसको दुई दिन पछि वैशाख २२ गते बिहान भक्तबहादुरको मृत्यु भयो।
तर, भक्तबहादुरले विष खाएको डाक्टरको रिपोर्टमा कहीँ कतै देखिएन। सिंहले स्वास्थ्य रिपोर्टमा समेत नदेखिने किसिमको विष बनाएर खुवाएको केन्द्रीय अनुसन्धान व्यूरोको रिपोर्टमा देखिएको छ। व्युरोका प्रमुख डिआइजी नारायण सिंह खड्का भन्छन् , 'सिंहले बनाएको विष रिपोर्टमा समेत नदेखिने रहेछ। कस्तो किसिमको केमिकल र वनस्पती मिलाएर बनाए अहिले त्यसमा अनुसन्धान गर्दै छौं।'
कसरी खुल्यो पोल?
भक्तबहादुर सुनवारको कारागारभित्रबाटै रहस्यमय हत्या भयो। भक्तबहादुरका दाजु रामबहादुरले आफ्नो भाइको हत्या भएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराए। गृहमन्त्रीको निर्देशनमा पाँच सदस्य छानविन समिति गठन भयो अनुसन्धानका लागि।भक्तबहादुरले विरामी परेलगत्तै अस्पतालमा हुँदा नै कारागार प्रशासनको लापरबाहीले आफ्नो मृत्यु भएको भन्दै चिठी लेखेका थिए। चिठी लेख्ने योजना पनि अभिषेककै भएको डिआइजी खड्काले बताए।
'सुनुवारको मृत्यु भए कारागारको लापरबाही देखिने र कारागारमा रहेका भाइ नाइके, नाइकेहरु माथि अनुसन्धान हुने त्यसपछि आफू शक्तिशाली हुने भन्दै उनले योजना रचेको देखिएको छ,' डिआइजी खड्काले भने।
को हुन् अभिषेक?
घटनाको मुख्य योजनाकार अभिषेक 'सिरियल किलर' हुन। ४० वर्षीय अभिषेक माथि ३ वटा ज्याम मुद्दा र एउटा ज्यान मार्ने उद्योग रहेको छ। सिंहलाई भक्तपुर जिल्ला अदालबाट ३५ वर्ष र जनकपुर जिल्ला अदालतले २० वर्ष जेल सजाय तोकेको छ। सिंहले रसिया, जर्मनी र भारतमा रहँदा वनस्पती प्रयोग गरेर मन्द बीष बनाउन सिकेको प्रहरीमा बयान दिएको डिआइजी खड्काले बताए। मृतकका दाजु रामबहादुरलाई अभिषेकले मुद्दा फिर्ता लिए काजक्रियाका लागि तत्काल १५ हजार रुपैयाँ र बर्दियामा भएको जग्गा समेत पास गरिदिने बताएको रामबहादुरले प्रहरी बयानमा भनेका छन्।यो नाटकीय हत्याकाण्डले नेपालका कारागार कति असुरक्षित छन् भन्ने पनि खुलासा गरेको छ। कारागार व्यवस्थापनको पक्ष त झन फितलो रहेको पुष्टि भएको छ। यसले सुरक्षा निकायलाई पक्कै पनि चुनौती थपेको छ।