
इस्लामावाद : पाकिस्तानमा बुधवार संसदीय निर्वाचन हुँदैछ। आतंककारी आक्रमण र सेनाको प्रत्यक्ष हस्तक्षेपले निर्वाचनमा असर पर्न सक्ने आकलन भइरहँदा पाकिस्तानी जनताले नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गर्दै छन्। पाकिस्तानको इतिहासमा हालसम्म निर्वाचित भएको प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पुरा गर्न पाएका छैनन्।
नवाज शरिफको सरकारसमेत कार्यकाल सक्दै निर्वाचन गराउनबाट वञ्चित भयो। कार्यकालको उत्तरार्धमा २०१७ जुलार्इमा पाकिस्तानको सर्वोच्च अदालतले शरिफलार्इ भ्रष्टाचारको अभियोगमा पदबाट बर्खास्त गर्ने आदेश दियो। 'पानामा पेपर'मा उनीसहति उनका परिवारका सदस्यसमेतलाई भ्रष्टाचार गरेको अभियोग लागेको थियो।
यस पटक निर्वाचित हुने प्रधानमन्त्रीले पनि पूरा कार्यकाल सरकार सञ्चालन गर्ने कुरामा शंका रहेको छ। निर्वाचित सरकारलार्इ पनि सरकार संचालनमा धेरै चुनौती रहने छन्। देशमा शक्तिशाली सेनासँग राम्रो सम्बन्ध स्थापना गर्नु र छिमेकी भारतसँग पनि सम्बन्ध सुधार्नु उसका लागि ठुलो चुनौतीका रूपमा रहनेछ।
यसपटकको निर्वाचनमा नवाज सरिफले नेतृत्व गरेको पाकिस्तान मुस्लिम लिग- नवाज (पीएमल-एन) र इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरिक-इ-इन्साफ बिच कडा टक्क हुने आकलन गरिएको छ। यस्तै विलावल भुट्टो जरदारीले नेतृत्व गरिरहेको पाकिस्तान पिपल्स पार्टीले पनि निर्वाचनमा राम्रो नतिजा ल्याउने अनुमान गरिएको छ।
१० करोडभन्दा बढी मतदाताले यस पटक निर्वाचनमा मतदान गर्न पाउनेछन्। प्रत्येक मतदाताले दुर्इ सिटका लागि मतदान गर्नु पर्नेछ। एउटा राष्ट्रियसभाका लागि र अर्को प्रान्तियसभाका लागि। कूल ३४२ सिटमा कम्तीमा १३७ सिट जित्ने पार्टीले सरकार गठन गर्न सक्दछ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ हाल भ्रष्टाचार मुद्दामा जेलमा रहेका छन्। सरिफले आफूमाथि लगाइएका आरोपहरू राजनीतिबाट प्रेरित भएको र आफू सेनाको नजरमा जहिल्यै तारो बनेको बताएका थिए। पाकिस्तान मुस्लिम लिगले पाकिस्तानमा शक्तिशाली मानिएको सेना विरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि आफ्नो पार्टीलार्इ मतदान गर्न आग्रह गरेको छ। पीएमल-एन 'भोटकी इज्जत हो' (भोटलार्इ इज्जत गर) भन्ने नाराका साथ निर्वाचनमा सहभागी भएको छ।
यस्तै पूर्व क्रिकेटर इमान खानको पार्टीले यस पटक निर्वाचनमा राम्रो नतिजा ल्याउने विश्वास गरेको छ। मुस्लिम लिगको वर्चस्व रहेको भनिएको पाकिस्तानको पञ्जाव प्रान्तमा भने यस पटक तेहरिक-इ-इन्साफको राम्रो उपस्थिति रहेको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीले नेतृत्व गरिरहेको पाकिस्तान पिपल्स पार्टीले सिन्धप्रान्तको ग्रामीण क्षेत्रमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ।
निर्वाचन प्रचारको क्रममा भएको आतंककारी आक्रमणले निर्वाचन शान्त रूपमा हुनेमा आशंका छ। जुलाई १३ का दिन मस्तुङ जिल्लामा गराइएको आत्मघाती आक्रमणमा परी १४९ जनाको मृत्यु भएको थियो। जुलाई ११ मा पनि पेशावरमा अवामी राष्ट्रिय पार्टीका उम्मेदवार सहित १९ जनाको मृत्यु हुने गरी आत्मघाती आक्रमण गराइएको थियो।
यस्तै अर्को एक निर्वाचन प्रचारका कार्यक्रमलार्इ लक्षित गराइएको आक्रमणमा परी एक उम्मेदवारको मृत्यु भएको थियो। ठुलो संख्यामा सेना र प्रहरी परिचालन गरिए पनि पाकिस्तानी जनता त्रासमा रहेका छन्। निर्वाचनलार्इ सफल बनाउनका लागि राजनीतिक दल, सेना प्रहरी, सञ्चारमाध्यम, र नागरिकहरू सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिइएको छ। अन्यथा, पाकिस्तानमा अस्थिरता कायम रहिरहने छ र पाकिस्तानी जनताको शान्ति र विकासको सपना अधुरै रहने छ।
यस्तै निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचनमा सेनाले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न सक्ने आकलन भइरहँदा सेनाले प्रत्यक्षरुपमा निर्वाचनलार्इ प्रभावित हुने कार्य गरिरहेको धेरैले शंका गरिरहेको बेला पाकिस्तानी सेनाले भने संसदीय निर्वाचनमा आफ्नो कुनै प्रत्यक्ष भूमिका नरहने स्पष्ट पारिसकेको छ। गत बुधवार इस्लामावाद उच्च अदालतले सेना र गुप्तचर निकायलार्इ निर्वाचनका क्रममा अरू निकायको काममा हस्तक्षेप नगर्न आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीश सउकत अजिजले अदालतको आदेश पाकिस्तानी सेनाका प्रमुख र गुप्तचर निकायका प्रमुखलार्इ दिन पनि रक्षा मन्त्रालयलार्इ आदेश दिँदै सेना र गुप्तचर निकायलार्इ संविधानको अधीनमा रहन समेत उनले सचेत गराएका थिए।
तर श्रङ्खलाबद्ध रूपमा भइरहेको आतंककारी आक्रमण र इतिहासमा सेना र गुप्तचर निकायको प्रभाव र सरकारले आफू विरुद्धमा आवाज उठाएका नेता, कार्यकर्ता र पत्रकारहरुलार्इ पक्राउ गरेका घटनाका कारण निर्वाचन स्वतन्त्र र शान्त रूपमा हुनेमा शंका रहेको छ।
यद्पी अनेक शंकाका बाबजुध पनि पाकिस्तानी जनता प्रजातन्त्र, विकास र शान्तिको अपेक्षासहित मदतानमा सहभागि हुँदैछन्। पाकिस्तान सरकारले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सबै व्यवस्था मिलाइएको बताएको छ।