PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

कानुनमन्त्री बन्न दौडधुपः दुई ‘भक्त’को लबिङ, कसले मार्ला बाजी?



पहिलोपोस्ट

कानुनमन्त्री बन्न दौडधुपः दुई ‘भक्त’को लबिङ, कसले मार्ला बाजी?

काठमाडौँः आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन्। तामाङले राजीनामा दिएसँगै अब नयाँ कानुनमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ। राजनीतिक वृत्तमा पनि विभिन्न समीकरण जोडेर विश्लेषण थालिएको छ।

मन्त्रीका छनोटका लागि नेकपाले औपचारिक प्रक्रिया अघि नबढाए पनि तामाङको राजीनामासँगै अनौपचारिक छलफल भने गरेको छ।

यसअघि तत्कालीन एमालेबाट मन्त्रीको पहिलो सूचीमा रहेका भानुभक्त ढकाल, वैकल्पिक सूचीमा रहेका कृष्णभक्त पोखरेल कानुनमन्त्री बन्ने दौडमा छन्। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुलाई निर्वाचनमा पराजित गरेका नारदमुनि राना पनि मन्त्रीको लविङमा छन्। नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि कानुनमन्त्रीमा अघि सारेका वसन्त नेम्वाङ पनि मन्त्रीको दौडमा देखिएका छन्। 

तर, मन्त्रीको दौडमा नेकपा संस्थापन पक्षको बलियो आडमा रहेका ढकाल नै अघि छन्।

सोमबार कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन सुझाएसँगै उच्च तहमा ढकाललाई मन्त्री बनाउने विषयमा समेत छलफल भएको नेकपा स्रोतको दाबी छ। पोखरेलको नाम भने उक्त छलफलमा पनि वैकल्पिक रूपमा नै प्रस्तुत भएको छ। 

नेकपाभित्र अध्यक्ष प्रचण्ड फ्याक्टरको अहिलेको भूमिका यथावत रहे ढकाल नै मन्त्री हुने करिब निश्चित छ। 


को हुन् ढकाल

वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम हो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो। 

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो। 

मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह«थुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए। 

पार्टीको संस्थापन पक्ष र ढकालका नाममा प्रधानमन्त्री समेत सकारात्मक रहेकाले उनको मन्त्रीको दौड बलियो छ।


यस्तो छ पोखरेलको पृष्ठभूमि

२०७० मा पहिलोपटक संविधानसभा सदस्य बनेका पोखरेल चितवनमा चिनिएका वकिल हुन्। कानुन पृष्ठभूमिबाट आएका पोखरेलले यसअघि संसद्को नीति निर्माणको मूल थलो विधायन समितिमा बसेर काम गरिसकेका छन्। 

तत्कालीन एमालेभित्र माधव नेपाल समूहमा रहेका उनी एमालेका चितवन जिल्ला अध्यक्ष पनि हुन्। जिल्ला अध्यक्ष भए पनि पार्टी अध्यक्षसँग भने उनको निकट सम्बन्ध छैन। 

राजीनामा दिएका मन्त्री तामाङ पनि तत्कालीन माधव नेपाल समूहबाट सिफारिस भएकाले पोखरेलले उक्त विषय नेकपाका शीर्ष नेताहरुसामु पुर्‍याएका छन्।

गुट सहज भए पनि नेतृत्वसँगको दूरी सहज नहुँदा मन्त्रीमा उनको दौड बलियो बन्न सकेको छैन। तर, नेकपामा प्रचण्ड फ्याक्टर हाबी भएमा पोखरेल मन्त्री बन्ने सम्भावना भने छ। 


प्रचण्ड फ्याक्टर निर्णायक

चितवनबाट निर्वाचन लडेर आएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पोखरेलको नाममा सकारात्मक छन्। चितवन जिल्ला अध्यक्ष पोखरेल र चितवन ३ बाट निर्वाचित प्रचण्डको सम्बन्ध प्रतिनिधिसभा निर्वाचनले जोडेको हो। 

जिल्ला अध्यक्षको भूमिकामा प्रचण्डलाई चितवन ३ मा निर्वाचित गराउन गरेको मेहनतलाई दुवै पक्षले स्वीकार गर्ने गरेका छन्।

पोखरेललाई यसअघि राज्यमन्त्री बन्न भनिए पनि अस्वीकार गरेका थिए। राज्यमन्त्रीभन्दा संसदीय समिति सभापतिमा उनको दाबी थियो। सोही अनुसार संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा पोखरेलको चर्चा छ।


भूगोल र जातीय फ्याक्टर

राजीनामा दिएका तामाङलाई मन्त्री बनाउँदा प्रदेश ३ र जनजाति कोटाबाट सिफारिस गरिएको थियो। प्रदेशबाट उनीसँगै पार्वत गुरुङले मन्त्रीको दाबी गरेका थिए। जनजाति समूहबाट यज्ञराज सुनुवारको पनि दाबी थियो। 

तर, माधव नेपाल समूहले तामाङलाई मन्त्रीमा सिफारिस गरेको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell