
काठमाडौँः सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ। मंगलबार साँझ भएको वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन्। संसद्मा विचाराधीन विधेयक नै फिर्ता लिनुपर्ने अडानबाट केसी पक्ष पछि हटेपछि वार्ता सुरु भएको हो। विचाराधीन विधेयक परिमार्जन गरी केसीले उठाएका विषय सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
बुधबार बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुँदैछ।
केसीले उठाएका मुख्य मागहरूमा मंगलबार पनि छलफल भएको थियो। उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न दिने वा नदिने, एक विश्वविद्यालयले पाँचभन्दा कलेजलाई सम्बन्धन दिने/नदिने लगायतका मूल विषयमा सहमति भएका छैनन्।
दुवै पक्षबीच मंगलबार विधेयक परिमार्जनको मस्यौदा भने साटासाट भएको छ। सरकारी वार्ता टोलीले विधेयकमा परिमार्जन गर्न सकिने विषय केसी पक्षलाई दिएको छ। केसी पक्षले आफ्ना माग सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विधेयकमाथिको सुझाव सरकारी टोलीलाई दिएको छ।
अनशनले राजनीतिक रुप लिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयको निर्देशनमा पछिल्ला दिनमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताको वातावरण बनाउन निर्देशन दिएका थिए। नेम्वाङले केदारभक्त माथेमा तथा माथेमा कार्यदलका सदस्यहरू, मेडिकल काउन्सिलका वर्तमान तथा पूर्व प्रमुखहरूसँग समेत अनौपचारिक छलफल गरेका थिए।
सो छलफलपछि सरकारको आधिकारिक प्रतिनिधित्व गरेर शिक्षा सचिव खगराज बरालले सरकारी वार्ता टोलीको नेतृत्व गरेका छन्।
मंगलबारको वार्ता सकारात्मक भएपछि दुवै पक्षले बुधबारसम्म सहमति हुन सक्ने जनाएका छन्।