
काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै उपस्थित हुन रुलिङ गरेका छन्।
सरकारका मन्त्रीहरु समयमै उपस्थित नहुँदा राष्ट्रियसभाको बैठकमा ढिलाइ हुन थालेपछि उनले यस्तो रुलिङ गरेका हुन्। बुधवारको बैठकमा पनि मन्त्री समयमा सहभागी नहुँदा बैठक ढिलो गरी सुरु भएको थियो।
बैठकको सुरुमै सभाध्यक्ष तिमल्सिनाले समयमै उपस्थित हुन मन्त्रीहरुलाई रुलिङ गरे।
आजको बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीका सन्दर्भमा सरकारले थालेको पहल सकारात्मक भन्दै प्रतिक्रिया दिए।
त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारवाहीको माग गरे। प्रसाईले छाडा शैलीमा बोलेको भन्दै तत्काल पक्राउ गरी कारवाही गर्न उनले माग गरेका हुन्।
प्रसाईंले डाक्टर केसीको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध रहने जानकारी गराए। त्यसपछि यसअघिका दिनमा झै कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गरे।
सभाध्यक्ष तिमल्सिनाको भूमिकामा प्रश्न
सदन अवरुद्ध रहेका बेला अवरुद्ध गर्ने पक्षलाई बोल्न दिइने संसदीय अभ्यास रहेको छ। सामान्यतया संसद अवरुद्ध रहेका बेला अन्य गतिविधि गरिँदैन।तर, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले संसद अवरुद्ध रहेका बेला अरु पक्षलाई बोल्न दिएर बाझाबाझको स्थिति पैदा गरे।
आजको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरुले सदन अवरुद्ध गरिरहेको बेला राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सत्तारुढ दलका सांसद रामनारायण विडारीलाई बोल्न दिए।
विडारीले कांग्रेसलाई नियमावली अनुसार चल्न आग्रह गरेका थिए। कांग्रेसले कुन नियमका आधारमा संसद अवरुद्ध गरिरहेको भन्ने प्रश्न गरेका थिए उनले।
हिजोको बैठकमा पनि कांग्रेसले सदन अवरुद्ध गर्ने जानकारी पाएका सभाध्यक्ष तिमल्सिनाले समय माग गरेका कांग्रेस सांसदलाई समय उपलब्ध नगराई सत्ता पक्षका सांसदलाई समय उपलब्ध गराएका थिए। जसकारण बैठकमा दुईतर्फी भनाभन भएको थियो।
कांग्रेसले आजको बैठक पनि अवरुद्ध गरेपछि १६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ।