PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

एन्फा अध्यक्ष कर्मा भन्छन् : असोज १३ बाट हुने ए डिभिजन लिग वाम अप जस्तो



पहिलोपोस्ट

एन्फा अध्यक्ष कर्मा भन्छन् : असोज १३ बाट हुने ए डिभिजन लिग वाम अप जस्तो

काठमाठौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी असोज १३ गतेदेखि हुने शहिद स्मारक ए डिभिजन लिग वार्म अप जस्तो भएको बताएका छन्।

राजधनीमा बुधवार एन्फा, ए, बि र सी डिभिजन क्लबका प्रतिनिधिहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताएका हुन्।

ए डिभिजनमा रहेको सबै क्लबले लिग नखेल्ने र खेलेका पनि कुनै क्लब रेलिगेसन नहुने भएपछि एन्फाको आलोचना भएको थयो। यसको जवाफमा शेर्पाले भने, 'यदी अर्को वर्ष लिग गरेको भए हामिले रेलिगेसनको व्यवस्था गर्न सक्थ्यौँ। तर यो पटक ४ वर्षपछि लिग हुन लागिरहेको छ। यसलाई हामीले वामअप लिगका रुपमा लिन सक्छौँ।'

शेर्पाको नेतृत्वमा एन्फामा नयाँ टिम आएपछि असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने निर्णय एन्फाले गरिसकेको छ।

शेर्पाले ए डिभिजन लिगका लागि भदौ १ गते देखि नै अनलाईनबाट खेलाडी दर्ता प्रकिया सुरुवात गर्ने समेत बताए।

अध्यक्ष शेर्पाले अब ग्रासरुटदेखि नै फुटबलको विकास गर्ने  त्यसका लागि भदौ २९ गतेबाट जिल्लामा  ग्रासरुट प्रोग्राम सुरु गर्ने बताए। 'बाल दिवसको अवसर पारेर एन्फाको ४५ वटै जिल्लामा एकै पटक डिजिटल माध्यमबाट ग्रासरुट प्रोग्राम सुरु गर्दैछौँ।' शेर्पाले भने।

यस्तै रौतहटको चन्द्रानिगापुरमा पहिलो पटक बन्न लागेको महिला टेक्निकल सेन्टर निर्माणको लागि फिफाले एन्फाको प्रस्ताव स्वीकार गरेको र अब छिट्टै निर्माण प्रक्रिया सुरु गर्ने जानकारी दिए। पुरुषको एकेडेमी सुरु भएको दुई दशकपछि महिलाको लागि पनि होस्टलसहितको एकेडेमी बन्न लागेको हो।

यसैगरी एन्फाले यही साउन ३० गते चितवनमा विशेष साधारण सभा गर्दै विधान संसोधन गर्ने तयारी समेत गरेको छ। त्यसका लागि एन्फाको प्रवक्ता किरण राईको संयोजकत्वमा रहेको ५ सदस्यिय समितिले १९ धारामा संसोधनको लागि संसोधन गर्नुपर्ने कारणसहित प्रस्ताव तयार पारेको छ। अब चितवनमा हुने विशेष साधारण सभामा त्यसबारे छलफल हुनेछ।
 
देश संघिय संरचनामा गएपछि एन्फा पनि संघिय संरचनामा लैजान विधान संसोधन गर्न लागिएको अध्यक्ष शेर्पाले बताए। अब सातवटै प्रदेशमा प्रदेश फुटबल संघ गठन गर्ने केन्द्रसिहत प्रदेश र जिल्लामा पनि लिग गर्ने व्यवस्था राख्न लागिएको एन्फाले जनाएको छ।
 

संशोधन गर्न लागिएको प्रस्तावित विधानको बुँदा अन्तर्गत धारा ३९.१ लाई संशोधन गरी प्रदेश फुटबल संघको स्थापना गरिने उल्लेख छ। सातै प्रदेशमा गठन भएका प्रदेश फुटबल संघले प्रदेश भरिका जिल्ला तहमा कार्य गर्नेछन्। पहिलो पटक गठन गर्न लागिएको प्रदेश संघ आगामी चार वर्षका लागि तदर्थ समितिको रुपमा रहने र एन्फाको केन्द्रीय चुनाव सकिएपछि निर्वाचन गरिनेछ।

प्रदेश संघले प्रदेशस्तरीय फुटबल लिग आयोजना गर्नुपर्ने पनि बिधानमा उल्लेख गर्न लागिएको छ। जिल्ला लिगका विजेता टोलीहरुले त्यस लिगमा सहभागिता जनाउनेछन्। जिल्ला लिग सञ्चालन गर्नका लागि कम्तिमा ६ टोलीबीचको प्रतिस्पर्धा अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। यसअघिको बिधानमा कम्तिमा १० टोली सम्मिलित हुनुपर्ने उल्लेख छ।

त्यस्तै जिल्ला फुटबल संघको हकमा नयाँ दर्ता गराउनुपरेमा जिल्लामा क्रियाशील कम्तिमा ६ क्लवका प्रतिनिधिबीच सहमति गरी कार्यसमिति निर्माण गर्न सकिने प्रस्ताव गरिएको छ।

यस्तै केन्द्रिय प्रतिनिधि तथा मतदाताको हकमा समेत फेरबदलको प्रस्ताव गरिएको छ। एन्फाको निर्वाचनमा ४५ जिल्ला सदस्य, ए, बी र सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला संघका प्रतिनिधि गरी ७७ मतदाता हुन्छन्।

प्रस्तावित संसोधित बिधानमा मतदाता संख्या ७७ नै भए पनि जिल्ला फुटबल संघको प्रतिनिधिको ठाउँमा प्रदेश फुटबल संघले मतदाता तथा प्रतिनिधि पठाउने व्यवस्था गर्न लागिएको छ। जसअनुसार प्रदेश नम्बर १ बाट १० जना मताधिकार प्रतिनिधिसहित ३० जना महाधिवेशन प्रतिनिधि रहनेछन्। त्यस्तै प्रदेश नम्बर २ बाट ८ मताधिकारसहित २४ जना, प्रदेश ३ बाट ११ मताधिकारसहित ३३ जना, प्रदेश ४ र ५ बाट समान ६ मताधिकारसहित १८ जना, प्रदेश ६ र ७ बाट समान २ मताधिकारसहित ६ जना प्रतिनिधिले केन्द्रिय अधिवेशनमा भाग लिनेछन्।

क्लब र अन्य संघको मताधिकार भने यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell