
काठमाडौं : कलाकार सरोज खनाल पछिल्लो समय अधिकांश फिल्ममा देखिने कलाकार हुन्। भदौ ८ मा प्रदर्शन हुने फिल्म 'रेनी'मा पनि उनी देखिने भएका छन्। अन्य कलाकारसँगै फिल्मका पोस्टरमा उनी फिचर्ड छन्।
फिल्म मेकर उनलाई स्टारकास्टका रुपमा लिंदै आएका छन्। तर, दु:खद उनी अभिनित प्राय फिल्म एक साता पनि हलमा टिकेका छैनन्। पञ्चायत, ब्वाइफ्रेन्ड, बाबु कान्छा, हैरान आदि उदाहरण हुन्। सरोजलाई पछिल्लो समय जस्तोसुकै प्रोजेक्टमा काम गर्ने कलाकारको आरोप लाग्दै आएको छ। यस मानेमा उनको स्क्रिप्ट छनौटमा प्रश्न गर्ने ठाउँ छ।
रेनी युनिटले पनि उनलाई प्रचार सामाग्रीमा राम्रो ठाउँ दिएको छ।
गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको 'रेनी'मा सरोजसँगै सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, सनम मल्लको अभिनय रहेको छ।फिल्ममा जयराम थापाको छायाँकन, बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा राजु किराँतको द्वन्द रहेको छ।