PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भरतपुरमा किन चल्यो गोली? प्रहरीले दिए यस्तो कारण



विधुर ढकाल

भरतपुरमा किन चल्यो गोली? प्रहरीले दिए यस्तो कारण
फोटोहरु : राजु चौधरी

काठमाडौं : भरतपुर महानगरभित्रको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै महानगरपालिकाले तीन पांग्रे सवारी अटो रिक्सा तथा टेम्पोलाई मुख्य राजमार्गमा चल्न रोक लगायो। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा तीन पांग्रेमाथि रोक लगाइएको थियो।
 
भरतपुर महानगर अन्तर्गत पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको गोन्द्राङदेखि नरायणगढ पुलचोकसम्म, पुलचोकदेखि आँपटारी सम्म र आँपटारीदेखि वाइपास केन्द्रीय बस ट्रमिनलसम्मको रुटमा तीन पांग्रे चलाउन रोक लगाउन निर्णय भएको थियो।
 
महानगरले नगर क्षेत्रका मुख्य सडकमा अटो रिक्सा चलाउन रोक लगाएपछि अटो ब्यवसायी वीरेन्द्र लामिछाने, दिलबहादुर श्रेष्ठ, हरिराम श्रेष्ठ, लालसिंह गुरुङ, सुधिर श्रेष्ठ, मानबहादुर अधिकारी, खेमप्रसाद राजभण्डारी र सुन्दर कुमार राजभण्डारीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर महानगरपालिकाको कार्यालय, बजार ब्यवस्थापन समिति, महानगरका मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह र महानगरका प्रमुख प्रशासकिय अधिकृत सहितलाई विपक्षी बनाई साउन २ गते उच्च अदालत पाटनको हेटौँडा इजलासमा निर्णय कार्यान्वयन नगराउन माग गर्दै रिट दायर गरेका थिए। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलाशले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएर सो मितिसम्म सवारी संचालनमा रोक नलगाउन शुक्रवार अन्तरिम आदेश दियो।
 
७ गते दुवै पक्षसँगको छलफलपछि अदालतले महानगरको निर्णयलाई कार्यान्वयनका लागि बाटो खुला गरिदियो। अदालतले निर्णय कार्यान्वन गर्न बाटो खुला गर्दै वैकल्पिक सडक नभएका स्थानमा भने अटो रिक्सा चलाउन छुट दियो। अदालतको आदेशपछि अटो रिक्सा व्यवसायीहरु पुन: आन्दोलित भए।
 

निहुँ क्याम्पस गेटदेखि लायन्सचोकसम्म

अदालतको आदेशपछि महानगरले निर्णय कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गर्‍यो। व्यवसायीहरुले पूर्व - पश्चिम राजमार्ग अन्तर्गतको भरतपुर वीरेन्द्र क्याम्पस गेटदेखि लायन्स चोकसम्मको रुटमा अटो रिक्सा चलाउन पाउनुपर्ने माग गरे।
 
'महानगरको निर्णयमा केही सुधार गरी मुख्य राजमार्गमा चलाउन नपाए पनि राजमार्ग क्रसगरी भित्री मार्ग प्रयोग गर्न छुट दिइएको थियो,' जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णबहादुर ठकुरीले पहिलोपोस्टसँग भने, 'उनीहरुले क्याम्पस गेटदेखि लायन्स चोकसम्म चलाउन पाउनुपर्ने माग गरे। नगर क्षेत्रमा बढी जाम हुने क्षेत्र पनि यही हो। यस क्षेत्रमा वैकल्पिक सडकहरु पनि छन्। यसैमा कुरा मिलेन।'

यस रुटमा वैकल्पिक मार्गको रुपमा भरतपुर व्यारेक पछाडिको सडक र क्षेत्रपुर कालिका ओरालोको सडक रहेको उनले जानकारी दिए। 'मुख्य समस्या नै यही हो। राजमार्गमा क्रसिङ परे, राजमार्ग क्रस गर्ने दिने भनिएकै छ। खाली मुख्य सडकमा चल्न नपाउने भनिएको मात्र हो,' उनले भने।
 

किन चल्यो गोली?

बुधवार दिउँसो प्रदर्शनकारीहरुले भरतपुर बसपार्कमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १० राउण्ड हवाइ फायर गर्‍यो। एक राउन्ड गोली प्रदर्शनकारीलाई ताकेर नै हानियो। किन त?

'प्रदर्शनकारीले प्रहरी चौकीमाथि नै आक्रमण गर्न थालेपछि हामीले बाध्य भएर गोली चलाउन पर्‍यो,' जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले पहिलोपोस्टसित टेलिफोनमा भने।
 
उनका अनुसार वडा प्रहरी कार्यालय नारायणगढ अन्तर्गतको जिल्ला प्रशासन कार्यालयको आडैमा रहेको नारायगढ प्रहरी चौकीमाथि प्रदर्शनकारी आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन फायर गर्नुपरेको हो।
 
प्रहरीले हवाइ फायर गर्नु अगाडि १०० सेल अश्रुग्यास समेत हानेको उनले जानकरी दिए।

'उहाँहरु मुख्य राजमार्गमा बसेर सडक अवरुद्ध गर्न थालेपछि हामीले माइकिङ गरेर हट्न आग्रह गर्‍यौं। सडक किनारमा रहेको खाली चौर (केन्द्रीय बस टर्मिनल अगाडिको खाली चौर)‌मा गएर प्रदर्शन गर्न पटक पटक आग्रह गर्‍यौं,' प्रहरी नायव उपरीक्षक ढकालले भने, 'आधा घण्टासम्म हामीले उहाँहरुलाई समय दिएका थियौं। सडकमा अटोरिक्साहरु रोकिएका थिए। नटेरेपछि हामीहरु टेम्पो हटाउन अगाडि बढ्दै थियौं। त्यत्तिकैमा हामीमाथि ढुंगा हान्न थालियो। प्रदर्शनकारीहरुले अटो रिक्सामा ढुंगा हालेर लिएका रहेछन्।'

प्रदर्शनकारीले ढुंगा हानेपछि वल प्रयोग गर्नुपरेको उनले दाबी गरे। 

'प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दै अगाडि बढ्न थाले। हामी डिफेन्समा नै थियौं। तर, प्रहरी कार्यालय अगाडिको मोटरसाइकलमा आगजनी भयो। सर्वसाधरणको एउटा कारमा तोडफोड गरे,' ढकालले भने, 'जिप्रकामाथि नै ढुंगा हान्न थालेपछि सुरुमा १०० राउण्ड जति अश्रुग्यास हान्यौं। अनि १० राउण्ड जति हवाइ फायर गर्नुपर्‍यो। अनि स्थिति नियन्त्रमा आयो।'
 
प्रदर्शनकारीले ना १६ प ९७०७ नम्बरको मोटरसाइकल आगजनी गरेको र अर्को एक सर्वसाधरणको कार जिल्ला प्रशासन कार्यालय अगाडि तोडफोड गरेको उनले जानकारी दिए। 

सेन्ट्रीमा बसेका प्रहरीले चलाए गोली

प्रहरी नायव उपरीक्षक ढकालका अनुसार प्रहरीको गोली लागि एक जना घाइते भएका छन्। घाइते हुने गैडाकोटका महेन्द्र सुनार रहेका छन्। 
उनलाई लागेको गोली प्रहरी चौकीमा सेन्ट्रीमा रहेका प्रहरीले चलाएको गोली हुन सक्ने ढकालले बताए।

'प्रहरी चौकीमा सेन्ट्रीमा बसेका प्रहरीले पनि एक राउन्ड गोली चलाएको जानकारी आएको छ,' उनले भने, 'प्रहरी चौकी अगाडि मोटरसाइकल जलाएपछि चौकीमा सेन्ट्रीमा रहेका प्रहरीमाथि आक्रमण गर्न अगाडि बढेपछि प्रतिरक्षाका लागि गोली चलाएका हुन सक्छन्। उनैले चलाएको गोली घाइतेलाई लागेको हुन सक्छ। हामी अनुसन्धान गर्दैछौँ।'
 
प्रदर्शनकारीको आक्रमणमा परी १४ जना प्रहरी समेत घाइते भएको ढकालले जानकारी दिए।

घाइते प्रहरी

  • प्रहरी जवान हर्क बहादुर दराई
  • प्रसनी तपेन्द्र चौधरी
  • प्रहरी जवान विनबहादुर छाहारी
  • प्रहरी जवान दीपक कुमार बैठा धोबी
  • प्रहरी जवान नेत्र बुढाथोकी 
  • प्रहरी हवल्दार बालकृष्ण पोखरेल
  • प्रहरी जवान केशव पाण्डे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell