
काठमाडौँः चितवनका अटो रिक्सा व्यवसायीहरूको अन्दोलन सकिएको छ। बुधबार अटो रिक्सा व्यवसायीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाएको थियो।
महानगरको निर्णय कार्यान्वयन गराएरै छाड्ने प्रशासनको अडानपछि व्यवसायीहरू पछि हट्न बाध्य भएका हुन्।
बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफलपछि आन्दोलन फिर्ता लिने तथा महानगरको निर्णय कार्यान्वयन गर्नेसहितका पाँच बुँदे सहमति भएको छ।
छलफलबाट महानगरले निर्धारण गरेको पुरानै रुट अनुसार तीन पाँग्रे सवारी साधन संचालन गर्ने, घाइते महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासनले गर्ने, तीन पाँग्रे सवारीलाई व्यवस्थित गर्न भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको उपमेयर शाहले जानकारी दिइन्।
भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि मुख्य राजमार्गमा तीन पाँग्रे सवारी साधन संचालनमा रोक लगाएको थियो। त्यसको विरोध तीन पाँग्रे सवारी चालकहरु आन्दोलनमा उत्रिएका थिए।