राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड विजेता फिल्म 'डाइङ क्यान्डल' निर्देशक हुन् नरेश कुमार केसी। पहिलो फिल्मबाट नै फिल्मकर्मी र दर्शकले सम्भावना बोकेका निर्देशकको रूपमा उनको चर्चा गरे।
तर उनी स्वयंलाई भने समय लिएर बनाएको भए अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लागिरह्यो।
'डाइङ क्यान्डलसँग मेरो इमोसन जोडियो। केही हतारमा बनाएँ।'
उनको सपना थियो- आफूले निर्देशन गरेको पहिलो फिल्म आमालाई देखाउने। आमा क्यान्सरको अन्तिम स्टेजमा पुगेको थाहा भयो। 'उहाँलाई देखाउन भनेर डाइङ क्यान्डलमा छिटो काम गरेँ। उहाँले हेर्नु भयो। आमा रुनुँ भयो।'
उनकी आमा बितेको २ वर्ष भयो। फिल्म रिलिज भएको पनि दुई वर्ष नै भयो। तर उनको फिल्म अध्ययन र पढाइको अनुभव भने छोटो होइन।
फिल्म पढ्न गरेको मेहनत
बुवाले नुवाकोटस्थित घरमै १, २ रुपैयाँ लिएर गाउँलेलाई फिल्म देखाएको तस्बिर उनी सम्झन्छन्। त्यसै बेलादेखि पर्दामा नाच्ने चित्रहरू उनको दिमागमा गढेर बसेका थिए। 'फिल्मप्रति लगाव बढ्यो। त्यसपछि बुवाले मेरो पढाई बिग्रिन्छ भनेर टिभीमै बन्देज लगाइदिनु भयो।'
एसएलसी दिएर काठमाडौँ आएँ। पढ्न। आइएस्सी सक्काए। पढ्नुसँगै अर्को रहर थियो- फिल्म क्षेत्रमा लाग्नु। उनको रुचि विशेषगरि फिल्म लेखनमा हो। रुचिको विषयलाई निखार्न चाहन्थे।
'फिल्म सम्बन्धी कलेज खोजेँ। तर भेटिएन।'
बुवाले उनको लागि देखेको सपना डाक्टरको थियो तर एमबीबीएसमा नाम निस्किएन। त्यसैले उनले आयुर्वेदिक डाक्टरको पढाई सुरु गरे।
२००८ मा 'ओस्कर फिल्म कलेज' खुल्यो। केसीले केही नसोची भर्ना लिए। जसबारे घरमा भने थाहा दिएनन्। 'ऋण लिएर भर्ना गरेँ पहिलो वर्ष। सेकेन्ड इयरमा कलेज टप गरे। त्यसपछि चलचित्र विकास बोर्डले पढायो छात्रवृत्तिमा', उनी सुनाउँछन्।
छोरोको रहरमा बुवा भने खुसी हुन सकेका थिएनन्। हुन पनि डाक्टर बन्न पठाएको छोरो फिल्म बनाउने ध्यानमा लाग्दा बुवाको असन्तुष्टि स्वाभाविक थियो। जसका कारण उनीसँग दुई वर्ष कुरा गरेनन्। तर, न सानोमा टिभी हेर्न बन्देज लगाउनुले काम गर्यो न त छोरोसँग नबोल्नुले।
नरेशले आयुर्वेदिक मेडिसिन पास गरे। लाइसेन्स लिए तर डाक्टर बनेनन्। उनी फिल्म निर्देशक बने।
'धेरै विषयमा स्नातकोत्तर'
फिल्म निर्देशनले उनको पढाइप्रतिको लगनशीलतामा भने असर गरेन। रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढे। स्नातक तह।
त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरे। सुनाउँछन् 'म त्यस्तो धेरै खत्रा विद्यार्थी थिइनँ। तर पढ्न मन लाग्थ्यो।'
स्नातकोत्तरको यात्रा अंग्रेजी साहित्यमा सीमित भएन। समाजशास्त्र पनि पढे।
'समाजलाई बुझ्न समाजशास्त्र छानेँ किनकि सिनेमा समाज चित्रण गर्ने एउटा माध्ययम हो।'
बिहान ओस्कर। दिउँसोमा मेडिकल कलेज। र, बेलुका आरआर धाउनु उनको दैनिकी बन्यो।
ओस्करको पढाई सकिएपछि भने फिल्ममै स्नातकोत्तरका लागि अमेरिका जाने निधो गरे। तर पर्याप्त पैसा थिएन।
उनको लागि दाइले बुवालाई कन्भिन्स गराए। भन्छन्,'२२ लाख चाहिने थियो। मैले त्यति रकम लिएपछि केही माग्दिनँ भनेँ। दाइले साथ दिनुभयो र बुवाले पैसा।'
'अमेरिकाको दु:ख'
उनी सन् २०११ मा अमेरिका पुगे। न्यूयोर्क फिल्म एकेडेमीमा पहिलो सेमेस्टर सुरु भएसँगै आर्थिक अभाव सुरु भयो। त्यहाँ न बुवा थिए न दाई। रातभर नसुति काम गर्नुको विकल्प नै थिएन। आफूजस्तै बाध्य अरू नेपालीलाई हेर्थे र बलियो बन्थे। 'कोठाको भाडा दिन नसक्दा कति समय त कलेजको पुस्तकालयमै बिताएँ।'
पुस्तकालयसँग उनी जोडिए। किनकि त्यहाँ उनलाई फिल्म 'डाइङ क्याण्डल'को कन्सेप्ट आयो। त्यहीँ उनले फिल्मको स्क्रिप्ट पनि लेखे।
'दुर्घटनाले निर्देशक बनेको होइन'
निर्देशक बन्नु उनको इच्छा अनि लक्ष्य थियो। त्यसैले उनी भन्छन्,'म दुर्घटनाले निर्देशक बनेको होइन। मेहनतले हो। सफल ठहर्याउँने कि असफल? यो चाहिँ दर्शकको हातमा छ।'
'फिल्ममा पागल नै थिएँ। त्यही पागलपनमा रमाउन सिकेँ त्यसैले खुसी छु', उनले थपे।
हाल आफूसँग करिब २५ वटा स्क्रिप्ट रहेको दाबी गर्छन्। 'सती प्रथा सम्बन्धी' र 'आइन्स्टाइनको बायोपिक' जस्ता ७ तयार स्क्रिप्ट उनले कलेजको पुस्तकालयमा बसेर लेखेको बताउँछन्।
दोस्रो फिल्म 'रोमियो एण्ड मुना'
अमेरिकाबाट फर्केर उनले दोस्रो फिल्म बनाएका छन् 'रोमियो एण्ड मुना'। फिल्मको कथा अमेरिकामै हुँदा लेखेका हुन्। फिल्ममा विश्व प्रख्यात चित्रकार विन्सेन्ट व्यान गगका केन्द्रमा राखेका छन् भने मुख कलाकार सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ हुन्।
फिल्मबारे भने, 'काल्पनिक कथामा आधारित फिल्म हो। जसमा मेटाफोर र सिम्बोलको भने भरपुर प्रयोग गरिएको छु।'
उनलाई कलात्मक फिल्म मनपर्छ। त्यसैले रोमियो एण्ड मुनामा सिजिआइ /ग्राफिक्सको प्रयोग गरिएको छ। 'नेपालमा सम्भवतः पहिलोपटक यस किसिमको ग्राफिक्सको प्रयोग भएको हो।'
फिल्मले फिल्मले दुई भिन्न भौगोलिक परिवेशमा हुर्किएका पात्रको प्रेम कथा भन्छ। 'तर यो फिल्म एउटा मुक्तिको कथा हो। माफीको कथा हो', उनले भने।
एउटा गीत तयार गर्न ४ महिना लागेको बताउने केसीले फिल्मको रेण्डरिङको काम चाइना र जापानमा गरेको बताए।
फिल्म प्रदर्शनअघि नै विदेश प्रदर्शनको माग बढ्नुले उनलाई उत्सुक बनाएको छ। साथै आफ्नो पहिलो फिल्म 'डाइङ क्यान्डल'भन्दा धेरै फिल्म फेस्टिभलमा जाने कुरामा विश्वस्त छन्।
यथार्थ कथा प्रस्तुत गर्न रुचाउने उनी युवा दर्शकलाई आकर्षित गर्न लागि परेको दाबी गर्छन्। 'जसका लागि म पात्रलाई केन्द्रमा राख्दा उचित मान्छु। र बिना हिच्किचाहट कन्टेन्टमा लगानी गर्नमा।'
'नेपालमा अभिनयको दुई फर्म छ। रियल्स्टिक अभिनय र पर्दाको लागि गर्ने अभिनय। म चाहिँ जनजीवनमा आधारित फिल्म बनाउँछु। धेरै घटना हुँदैन। पात्र केन्द्रित हुन्छ मेरो फिल्म।'
नेपाली फिल्ममा फरकपन दिनुपर्छ पक्षमा छन्। नेपाली माटोको फिल्म बनाउनुपर्छ। नेपालमा आज पनि फिल्म क्षेत्रलाई लिएर सार्वभौम नरहेको बताउँछन्। 'भारतीय फिल्मले कोरेको सीमाबाट नै विश्वमा नेपाललाई हेरिन्छ। यो ट्रेन्ड तोडिनु पर्छ।'
व्यङ्यात्मक शैलीमा थप्छन् 'तर, यहाँ त ड्रोन छ भने कथाले मागे पनि नमागे पनि ड्रोन सट खिचिन्छ। नेपाली फिल्म विकासका लागि त्योभन्दा माथि उठ्न सक्नुपर्छ।'
उनी फिल्म फिल्म निर्देशन गर्न पढ्नु नै पर्छ भन्दैनन्। जानकारी भने हुनुपर्छ भन्नेमा जोड दिन्छन्। 'मलाई त शिक्षाको भोक थियो। त्यसैले पढेँ।'