
काठमाडौंः पाकिस्तानमा बुधवार सम्पन्न आम निर्वाचनले जनताको ‘नयाँ पाकिस्तान’प्रतिको चाहनालाई प्रतिविम्वित गरेको छ। पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)को पक्षमा चुनावी परिणामको प्रारम्भिक रुझान देखिएको छ।
बुधबार सम्पन्न आम निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाका आधारमा उनको पार्टीले भन्दै आएको ‘नयाँ पाकिस्तान’ को प्रधानमन्त्रीको रूपमा अगाडि बढेका छन्। तर उनी माझ नयाँ पाकिस्तानलाई अगाडि बढाउने चुनौती भने उस्तै छन्।
प्रारम्भिक परिणाम आउँदै गर्दा पीटीआईका कार्यकर्ताहरूले विजय उत्सव मनाउन सुरु गरेका छन्। निर्वाचनको परिणाम आउँदै गर्दा पीटीआइका प्रवक्ता नइमुल हकले ट्वीटमार्फत् स्थानीय समय अनुसार २ बजे देशवासीका नाममा सम्बोधन गर्ने बताएका छन्। २०१८ को आम निर्वाचनमा असल र खराबीचको लडाईँमा असलको विजयी भएकाले उत्सव मनाउने तयारी भइरहेको डन न्युजले जनाएको छ।
ग्यालप पाकिस्तानले ५० देखि ५५ प्रतिशतसम्म मतदान भएको अनुमान गरेको छ। ४७ प्रतिशत मतगणना केन्द्रको रिपोर्ट अनुसार पीटीआईले ११४ राष्ट्रियसभा सिटमा अग्रता कायम गरिरहेको छ। भने पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ६४ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै पीपीपी–पीले ४२ सिटमा अग्रता कायम गरेको छ।
यता पञ्जाब प्रतीय सभाको निर्वाचनमा भने पीएमएल–एनले १२९ सिटमा अग्रता कायम गरेको छ। यहाँ १२२ स्थानमा अग्रता कायम गर्दै पीटीआई दोस्रो स्थानमा छ।
त्यस्तै खैबर पख्तुनख्वामा पीटीआईले ६४ सिटका साथ अग्रता कायम गरेको छ। यहाँ मुत्ताहिडा मज्लिस ए अमालले १२ सिटमा अग्रता कायम गरिरहेको छ।
सिन्ध प्रान्तमा पीपीपी–पीले ७५ स्थानमा अग्रता लिँदा पिटिआई २२ स्थानमा अग्रता लिएको छ। बलोचिस्तानमा वलोचिस्तान अवामी पार्टी ले १२ सिटमा अग्रता कायम गरेको छ।
अवामी नेसनल पार्टीका नेता गुलाम अहमद व्लोइरले आफ्नो हारको स्वीकार गरेका छन्। पाकिस्तानको एनए–३१ (पेशावर) निर्वाचन क्षेत्रमा पीटीटीका उम्मेद्वार अगाडि छन्। यहाँ पीटीटीका उम्मेदवार सौकत अलीले ३० हजार मत कटाउँदा व्लोइरले १४ हजार कटाएका छन्।
‘नतिजाले इमरान खान जनताका प्रिय नेता हुन भन्ने देखाएको छ,’ उनले भनेका छन्, ‘म प्रजातान्त्रिक व्यक्ति म पराजयलाई स्वीकार गर्छु।’
व्लोइरले निर्वाचन अभियानका दौरान भएको आत्मघाती विस्फोटमा आफ्ना भतिज गुमाएका थिए।
खैबर पख्तुनख्वाका उम्मेदवार समेत रहेका उनका छोरा हारुन व्लोयरको निर्वाचन अभियानका क्रममा भएको विस्फोटमा परी मृत्यु भएको थियो।
धार्मिक कट्टरपन्थीको पराजय
पाकिस्तानमा बुधवार भएको निर्वाचनमा त्यहाँका धार्मिक कट्टरपन्थी दलहरूको उपस्थितिलाई भने साँघुरो पारिदिएको छ।लाहोरमा गत वर्ष भएको उपचुनावको परिणामलाई उल्टाउँदै यसपटक मतदाताले धार्मिक नारा बोकेका पार्टीलाई मत दिएका छैनन्। तेहारिक लबाइक पाकिस्तान (तीएलपी) र कास्मिर जेहाजको मुद्दा बोकेको मिल्ली मुस्लिम लिग (एमएमएल) यहाँ १४ राष्ट्रिय तथा ३० प्रान्तीय सिटमा असफल भएका छन्।
खैबर पख्तुनख्वा र वलोचिस्तानमा २००२ देखि २००७ सम्म शासन गरेको पाँच धार्मिक पार्टीको गठबन्धन समेत यहाँबाट नराम्रोसँग पराजित भएको छ।