काठमाडौ : दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्ग बहादुर सुनार बुधवार आफ्नो सुन लुटिएको भन्दै प्रहरीको शरणमा पुगे। बुधवार राति गोंगबुस्थित राप्ती पाहुना घरबाट सुनारले आफ्नो १ किलो सुन र २ लाख १७ हजार रुपैयाँ लुटिएको उजुरी दिएका थिए।
राजधानीबाट नै सुन लुटिएको उजुरी परेपछि प्रहरी सक्रिय भयो। बुधवार साँझबाट नै प्रहरी लुटेराको खोजीमा लागिहाल्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल समेत फिल्डमा खटिए। आखिर सुन कसले लुट्यो?
होटेलको कोठा नम्बर २०२ मा पाँच दिनदेखि बस्दै आएका सुनारले बुधवार मात्र न्यूरोडको सिद्धार्थ बैकबाट १ किलो सुन निकालेका थिए। रातभरिको अनुसन्धान पछि सुन भेटियो। सुन गोंगबुस्थित बिजी मलमा लुकाइएको थियो। प्रहरीले अन्य चार जनालाई समेत समात्न सक्यो।
तर, घटनाले त्यसपछि भने अर्कै ट्विस्ट आयो। सुनवारले नलुटिएको सुन लुटिएको भन्दै प्रहरीमा उजुरी दिएर नाटक मात्र गरेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'सुन लुटिएको भन्ने कुरा योजना मात्र रहेछ। उनी आफ्नै योजनामा अरूलाई सहयोगी बनाएर सुन लुटिएको नाटक रचेका रहेछन्।'
सुनवार दाङ सुन व्यवसायी समितिका सदस्य हुन्। उनलाई समितिले नै रकम दिएर काठमाडौँ सुन किन्न पठाएको थियो। सुन लुटिएको भनेर हल्ला फैलाएर सुन आफ्नै हुने र समितिमा पैसा तिर्नुनपर्ने भएकाले उनले नाटक गरेको अनुसन्धानमा खुलेको हो। एक किलो सुनको बजार मूल्य करिब ५० लाख रुपैयाँ पर्छ।
गोङ्गबुमा लुटिए व्यापारी, एक किलो सुन र दुई लाख पैसा लुटियो