PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेकपाका विद्यार्थी संगठनको एकता : कार्यदलमा हितमान नआएपछि रमेश मल्लको इन्ट्री



विधुर ढकाल

नेकपाका विद्यार्थी संगठनको एकता : कार्यदलमा हितमान नआएपछि रमेश मल्लको इन्ट्री

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठनहरुको एकताका लागि तीनवटा विषयगत उप-समिति गठन भएका छन्। 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकताका लागि गठित कार्यदलले तीन वटा उप-समिति गठन गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।
 
बैठकले एकीकृत संगठनको राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण उपसिमिति, विधान मस्यौदा उपसमिति र संगठन समायोजन उपसमिति गठन गरेको उनले जानकारी दिए। बैठकले आफ्नो प्रतिवेदन बुझाउन उपसमितिहरुलाई १० दिनको कार्यावधि दिएको छ।

राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का, झपिन्द्र खत्रीसहित क्रान्तिकारीका तर्फबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा सदस्य रहेका छन्। त्यस्तै विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने, सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन छन्। 

अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनालीसहितको संगठन समायोजन उपसमिति गठन भएको छ।
 
बिहीवार बसेको विधान उपसमितिको बैठकले संगठनको विधान तयार गर्नका लागि दुवै संगठनको विधान अध्ययन गरी पुनः शनिबार बैठक बसी टुंग्याउने निर्णय गरेको लामिछानेले जानकारी दिए।
 
बैठकमा संगठनको पदाधिकारीको संख्या, संगठनको झण्डालगायतका विषयमा छलफल भएको र छलफल सहमति नजिक रहेको उनले जानकारी दिए। ‘यी विषयमा दफावार छलफल भयो। दुवै संगठनका विधानको अध्ययन गरी पुनः शनिबार बैठक बसी यसलाई टुंग्याइने छ,’ लामिछानेले भने।
 
दुवै संगठनको झण्डा एउटै भएकाले यसको विषयमा कुनै समस्या भने देखिँदैन। केन्द्रीय कमिटीको आकार र प्रतिनिधित्वको विषयमा समेत छलफल चलिरहेको बताइएको छ।

शाक्यको स्थानमा मल्लको इन्ट्री

गत जेठमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएसँगै जनवर्गीय संगठन तथा प्रदेश कमिटीको एकताका लागि कार्यदल बनेको थियो। तीन महिनाको कार्यावधीसहित गठन भएका कार्यदलले दुई महिना वित्दा समेत कामलाई अगाडि बढाउन सकेका थिएन।

विद्यार्थी संगठनको एकताका लागि गठित कार्यदलका एक सदस्य तत्कालीन माओवादी केन्द्रको विद्यार्थी फाँटका इञ्चार्जसमेत हितमान शाक्यले असन्तुष्टि जाहेर गर्दै बैठकमा उपस्थित नहुँदा काम अगाडि बढ्न सकेको थिएन। कार्यदलका बाँकी सदस्यले पार्टीलाई पत्र लेख्दै उनको स्थानमा अर्को सदस्य चयन गर्न आग्रह गरेका थिए। 

कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामासँगै माओवादी केन्द्रका तर्फबाट शाक्य र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ सदस्य थिए। 
आजको बैठकमा शाक्यको स्थानमा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सहभागी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell