काठमाडौँ: राजधानीबाट नै एक पुरुषको अपहरण। बिहीबार दिनभर काठमाडौँ प्रहरीलाई यो घटनाले निकै टाउको दुखाइको विषय बन्यो।
तनहुँ घर भएका २५ वर्षीय शिवराज घिमिरेको अपहरण भएको उजुरी आएको थियो। नयाँ बसपार्कमा इलेक्ट्रिक पसल गर्दै आएका शिवराज बिहानै काममा निस्किए। उनकी १७ वर्षीय श्रीमती भने कोठा नै भातभान्छाको तयारीमा लागिन्।
'तपाईँको श्रीमान् अपहरणमा परेका छन्,' एक्कासी अपरिचित नम्बरबाट फोन आएपछि शिवराजकी श्रीमतीको होसहवास नै गुम्यो। केही समयपछि आफूलाई सम्हाल्दै उनले यो खबर आफन्तसम्म पुर्याइन्। उनीहरूको अन्तिम सहारा प्रहरी नै थियो। उजुरी लिएर प्रहरीकोमा पुगे।
उजुरी आउने बित्तिकै प्रहरीले अनुसन्धान सुरु गर्यो। राजधानीमा दिउँसै भएको घटना प्रहरीको शान्ति सुरक्षामा प्रश्न उठाउने खालकै थियो। प्रहरीले तत्काल अनुसन्धान थाल्यो।
बिहान १० बजेतिर शिवराजको फोन लोकेसन कलंकीमा देखायो। प्रहरीले फोन ट्र्याक निरन्तर गरिरह्यो। कलङ्कीबाट काँडाघारी, पनौती हुँदै बनेपा गएको देखियो। काठमाडौँ प्रहरीले काभ्रे प्रहरीलाई समेत खबर गर्यो। तर शिवराज पत्ता लागेनन्।
शिवराज हराएको छ घण्टा भइसकेको थियो । कुनै अत्तोपत्तो थिएन। करिब दिउँसो २ बजेतिर श्रीमतीको मोबाइलमा फोन आयो। आवाज आफ्नै श्रीमानको थियो। 'मलाई अपहरणकारीले सेतो गाडीमा हालेर लगेका छन्। कुटपिट गरिरहेका छन्,' फोन काटियो। श्रीमती झन् त्रसित भइन्।
प्रहरीले अन्तिम फोन लोकेसन ट्याक्क गर्दा स्वयम्भूको मन्दिरमा देखियो। प्रहरी मन्दिर पुग्यो। शिवराज मन्दिरमा नै भेटिए। तर कुनै अपहरणकारी भने थिएनन्।
जब शिवराजले अपहरणको घटना सुनाए प्रहरी नै चकित भए। शिवराजको कुनै अपहरण भएको थिएन। श्रीमतीलाई तड्पाउन उनले नाटक गरेका रहेछन्। महानगर प्रहरी परिसर काठमाडौँका एसएपी विश्वराज पोखरेलले भने,' श्रीमतीले अरू केटाहरूसँग बारम्बार फोनमा कुरा गरेकोले उनलाई तड्पाउन यस्तो नाटक गरेको अनुसन्धानमा खुलेको छ।'