PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण



पहिलोपोस्ट

आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँः आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ। खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुनेछ।

कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ। त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ। त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ। पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने छ। शुक्रबार राति करिब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नु हुने सबैका लागि एक सुनौलो तथा अभूतपूर्व अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।

खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् ।

राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ। अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन्। यस अवधिलाई खग्रास भनिन्छ। त्यसपछि ग्रहण क्रमशस् कम हुँदै बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ। रासस

टेलिस्कोपबाट हेर्न चाहने महानुभावका लागि शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको सोसाइटीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell