
एन्टोनिओ एडनका लागि एट्लेटिको मड्रिडबाट डेब्यु खेल ड्रिम कम ट्रु जस्तो भएको छ। उनले इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा स्पानिस क्लबलाई आर्सनल विरुद्ध जित दिलाउन तीन पेनाल्टी रोके भने आफै विजयी गोल गरे।
विश्व विजेता फ्रान्सका एन्टोनी ग्रीजमन, उरुग्वेका डिफेण्डर डिएगो गोडिन, स्पेनका डिएगो कोस्टा र कोके लगायत विश्वकप खेलेका खेलाडी बिनै मैदानमा उत्रेको एट्लेटिकोले एडनको उत्कृष्ट प्रदर्शन मद्दतमा आर्सनलाई पेनाल्टीसुटआउटमा ३-१ ले हराएको हो।
एडनले पेनाल्टीमा लण्डन क्लब आर्सनलका हेनरिख मिखातर्यान, जोसेफ विललक र एडवार्ड एनकेतिहको प्रहार रोकेका थिए। त्यसपछि गोलकिपर एडनले आफै गोल गरे अनी एट्लेटिकोलाई जित दिलाए।
लुसियानो भिएट्टवको गोलमार्फत एट्लेटिकोले खेलमा पहिले अग्रता लिएको थियो तर युवा खेलाडी एमिल स्मिथ रोवेले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउट बाट लिइएको हो। पेनाल्टीमा एट्लेटिकोका लागि रोड्रिगो, भिक्टो मालेजो र एडनले गोल गरे भने एन्जल कोरअ र बोजा गर्सेस गोल गर्न असफल भए। आर्सनलका लागि मटल्याण्ड नाइल्सले मात्र पेनाल्टीमा गोल गरे।
एडन केही समयअघि मात्र अर्को स्पानिस क्लब रियल बेटिसबाट एट्लेटिको पुगेका थिए।
रियल मड्रिडबाट युथ करियर सुरु गरेका एडनले रियलकाको सी, बी हुँदै सिनियर टिमसम्म खेलेका थिए।