PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

कहाँ छ ३३ किलो सुन? सात सय पृष्ठको प्रतिवेदनमा पनि अटेन जवाफ



सविन ढकाल

कहाँ छ ३३ किलो सुन? सात सय पृष्ठको प्रतिवेदनमा पनि अटेन जवाफ

काठमाडौँः ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ।

सय दिनभन्दा लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुगेकाले केही दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी भइरहेको छ। समितिका एक सदस्यले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'हामीलाई दिएको समयभित्र भएका अनुसन्धानको प्रतिवेदन लगभग तयार पारिसेका छौँ। प्रधानमन्त्रीज्यूको समय मिल्ने बित्तिकै बुझाउने तयारीमा छौँ।'

सनम शाक्य हत्या र ३३ किलो सुन एकाएक हराएपछि सरकारले गत चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो। समितिले ७ सय पेजभन्दा बढीको प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदनमा अहिलेसम्म समितिले गरेका कामहरूको बारेमा जानकारी गराइएको छ। त्यस्तै अनुसन्धान अझै अपुरो नै रहेकाले आगामी दिन हुने अनुसन्धानलाई सहज बनाउन सुझाव समेत दिएको समितका सदस्यले बताए। उनले भने, 'अहिलेसम्मको अनुसन्धानबारेमा जानकारी साथै आगामी सुन प्रकरणमा संलग्न व्यक्तिहरूको बारेमा समेत जानकारी दिएका छौँ। जसले थप अनुसन्धानमा सहयोग पुग्ने छ।'

समितिले अहिलेसम्म गरेको अनुसन्धानमा ७५ जनालाई प्रतिवादी बनाएको छ। जसमा ९ जना प्रहरी अहिले जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि थुनामा छन्। समितिले तयार पारेको प्रतिवेदनमा मुख्य सुन तस्कर को हो भनेर खुलाएको छैन।  गृहमन्त्री रामबहादुर थापाले तस्करीमा 'ठूला माछा' पक्राउ गर्ने बारम्बार घोषणा गरे पनि 'ठूला माछा'  भने पक्राउ पर्ने सकेनन्।

प्रतिवेदनमा मोहन कुमार अग्रवाललाई मुख्य लगानीकर्ताको रूपमा देखाइएको छ। त्यस्तै दुबईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चुणामणि उप्रेती गोरेलाई बनाइएको छ। नेपालको पैसा दुबई अवैधरुमा हुन्डीमार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्धार लगायत भएको उल्लेख गरिएको समितिका एक सदस्यले बताए।

माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएर हराएको ३३ किलो सुन कहाँ छ? कसले लुट्यो भन्ने विषय भने प्रतिवेदनमा समेत स्पष्ट छैन। समितका एक सदस्यले भने,' हराएको सुन कहाँ छ भन्ने स्पष्ट उल्लेख छैन। आगामी अनुसन्धानमा भेटिएला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell