
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिपत्रको प्रतिलिपि उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ।
केसीसँग भएको सहमति संसदलाई जानकारी गराउने विषयमा मन्त्रिपरिषद्मा छलफल गर्नु पर्ने भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पन्छिएपछि कांग्रेस विरुद्धमा उत्रिएको हो।
सम्झौताका केही विषयहरु स्वास्थ्य र परराष्ट्र मन्त्रालयसँग जोडिएको तथा एउटा विषय अदालतमा विचाराधीन रहेकोले जानकारी दिन नसक्ने जिकिर शिक्षामन्त्रीले गरेका थिए। सम्झौताबारे सरकारको आधिकारिक धारणा आउन मन्त्रिपरिषद्को बैठक बस्नु पर्ने उनले बताएका थिए।
लगत्तै कांग्रेसका सांसदहरुले सहमति भएको विषय मिडियाबाट थाहा पाएर हुँदैन भन्दै सहमतिपत्रमा के लेखिएको छ बताउनुपर्ने माग राखेका थिए। कांग्रेसका सांसदले जानकारी माग गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वार्ता र सहमतिको बुँदासहितको प्रतिवेदन टेबुल गर्न सुझाएका थिए।
त्यसपछि प्रतिवेदन सभामुखलाई बुझाएका गिरिराजमणि पोखरेलले ९ बुँदामा के लेखिएको छ भन्ने पढेनन्। त्यसैलाई नेपाली कांग्रेसले एजेन्डा बनाउँदै संसद अवरुद्ध पार्यो। सभामुख कृष्णबहादुर महराले सबै सांसदाई सहमतिको पत्र फोटोकपि गरेर बाढ्ने बताउँदा पनि कांग्रेसका सांसदहरु मौन बसेनन्। त्यसैले सभामुखले १० मिनेटका लागि संसद रोकेका हुन्।
त्यसो त अनशनमा रहेका डाक्टर केसीसँग हिजो राति सहमति भएसँगै कांग्रेससामु 'एजेन्डा नभएको' तर्क प्रधानमन्त्रीलेसमेत यसअघि गरिसकेका छन्।