
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने क्रम रोके पछि आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भएको छ। प्राध्यापक डाक्टर गोविन्द केसीले विधेयकमाथि प्रश्न गर्दै अनसन सुरु गरेपछि कांग्रेसले त्यसमा समर्थन गर्दै संसद अवरुद्ध गर्दै आएको थियो।
गएराति डाक्टर केसी र सरकारबीच सहमति भएको थियो। त्यसबारे आज सदनमा जानकारी गराइएपछि कांग्रेसले संसद अवरुद्ध गर्न छाडेको हो।
कांग्रेसका तर्फबाट दर्ता भएको विरोधको सुचना पनि फिर्ता लिएपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका छन्।
प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेछ।
यसअघि प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिपत्रको प्रतिलिपि उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो।
केसीसँग भएको सहमति संसदलाई जानकारी गराउने विषयमा मन्त्रिपरिषद्मा छलफल गर्नु पर्ने भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पन्छिएपछि कांग्रेस विरुद्धमा उत्रिएको थियो।
सम्झौताका केही विषयहरु स्वास्थ्य र परराष्ट्र मन्त्रालयसँग जोडिएको तथा एउटा विषय अदालतमा विचाराधीन रहेकोले जानकारी दिन नसक्ने जिकिर शिक्षामन्त्रीले गरेका थिए। सम्झौताबारे सरकारको आधिकारिक धारणा आउन मन्त्रिपरिषद्को बैठक बस्नु पर्ने उनले बताएका थिए।
लगत्तै कांग्रेसका सांसदहरुले सहमति भएको विषय मिडियाबाट थाहा पाएर हुँदैन भन्दै सहमतिपत्रमा के लेखिएको छ बताउनुपर्ने माग राखेका थिए। कांग्रेसका सांसदले जानकारी माग गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वार्ता र सहमतिको बुँदासहितको प्रतिवेदन टेबुल गर्न सुझाएका थिए।
त्यसपछि १० मिनेट संसद अवरुद्धसमेत भएको थियो। प्रतिवेदन सांसदलाई उपलब्ध गराएपछि संसद फेरि सुरु भएको थियो।