
पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्रीको दौडमा अगाडि छन्। यो सामाग्री तयार पार्दासम्म पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको २५१ क्षेत्रको नतिजा अनुसार इमरान खानको नेतृत्वको पार्टी पाकिस्तान तेहारिक ए इन्साफ (पीटीआई)ले ११० सिटमा विजय हासिल गर्दै अगाडि छ।
त्यस्तै पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग– नवाज (पीएलएम–एन) जम्मा ६३ सिट हात पारेको छ। त्यस्तै अर्को पार्टी पीपीपीले ४२ सिट ल्याएको छ।
बुधवार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा यहाँ पाकिस्तानको राजनीतिमा पकड बनाएका राजनीतिक खेलाडीहरुले समेत पराजय व्यहोरेका छन्। पीटीआईका प्रमुख इमरान खानले पाँचवटा निर्वाचन क्षेत्रमा जित हात पार्दा पाकिस्तानका कैयौँ राजनीतिक हस्तीहरु पराजित भएका छन्।
पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहीद खकान अब्बासीसमेत दुई वटा निर्वाचन क्षेत्रबाट पराजित भएका छन्। उनी इस्लामावादबाट पीटीआईका प्रमुख खानसँग पराजित भए। त्यस्तै अब्बासी आफ्नो गृहनगर मुर्रीबाट समेत पीटीआईका सदाकत अब्बासीसँग पराजित भएका छन्।
पीटीआईका प्रमुख इस्लामावादसँगै आफ्नो गृहनगर मैनावली, कराजी, लाहोर र बान्नुबाट विजयी भएका छन्। उनलाई लाहोरबाट पूर्व रेलवे मन्त्री तथा पिएमएल–एनका नेता ख्वाजा साद रफिकले कडा टक्कर दिए। त्यहाँ इमरान खान ६०० मतान्तरले पछडि परे।
त्यस्तै उनले बान्नुबाट एमएमएका प्रमुख अक्रम खान दुर्रानीलाई पराजित गर्दै विजयी भए।
त्यस्तै पराजित हुने नेताहरुको सूचीमा पाकिस्तान मुस्लिम लिग– नवाज (पीएमएल – नवाज)का अध्यक्ष समेत रहेका छन्। पीएमएल–नवाजका अध्यक्ष शहवाज सरिफ चार वटा निर्वाचन क्षेत्रबाट लडेका थिए। तर उनी तीन वटा निर्वाचन क्षेत्रमा पीटीआईका उम्मेदवारसँग पराजित भए। उनी आफ्नो गृहक्षेत्र लाहोरबाट मात्र विजयी भए। उनी कराँची, स्वात र डेरा गाजि खानबाट पराजित भए।
पीएमएल–एनकै नेता सरदार अवाइस लेजारी समेत पीटीआइका जर्ताज गुलसँग आफ्नो निर्वाचन क्षेत्रमै पराजित भए।
पीटीआईका उम्मेदवारहरुले यसपटकको निर्वाचनमा पाकिस्तानको राजनीतिका दिग्गज हस्तीहरुलाई पराजित गरेका छन्। जेयुआई–एफका प्रमुख मौलाना फजलुर रहमान समेत आफ्नो गृहनगरमा पराजित भएका छन्।
त्यस्तै पाकिस्तान पिपुल्स पाटी (पीपीपी)का अध्यक्ष विलावल भुट्टो जरदारी समेत आफ्नो गृहनगरमा पराजित भए। उनी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका छोरा समेत हुन्। तीन वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका उनले मलाखण्ड (एनए–८) मा पीटीआई उम्मेदवार जुनैद अकबरसँग हारे। त्यस्तै लियारी कराँची (एनए–२४६)बाट पनि पीटीआईका उम्मेदवार शकुर सादसँग पराजित भए। मुट्टो जर्दारी लार्कनाबाट भने विजयी भए।
त्यस्तै अवानी नेशनल पार्टीका प्रमुख अस्फाडीयर वाली खान समेत पारजित भएका छन्। आफ्नो गृहनगरको एनए–२४ बाट उनी पीटीआईका उम्मेदवार फजल मोहम्मद खानसँग २३ हजार भोटको अन्तरले पराजित भए।
त्यस्तै जामेत–इ–इस्लाम (जेआई)का प्रमुखसमेत यसपटक पराजित भएका छन्। जेआई प्रमुख सिनेटर सिरजुल हक पीटीआईका मोहम्मद बसिर खानसँग १९ हजार मतान्तरले पराजित भएका छन्।
यसपटकको निर्वाचनमा पराजित हुने राजनीतिक हस्ती चौधरी निसार अली खान हुन्। उनी सन् १९८५ देखि पाकिस्तानको राष्ट्रिय सभामा निर्वाचित हुँदै आएका थिए। यसपटक भने उनी दुबै निर्वाचन क्षेत्रबाट पराजित भए। रावलपिण्डी जिल्लाको एनए–५९ र एनए–६३ बाट उनी पराजित भए।
उनी एनए–५९ बाटस्वतन्त्र उम्मेदवार जुलाम सरावर खान सँग २३ हजार मतान्तरले पराजित हुँदा अर्को निर्वाचन क्षेत्र एनए–६३ बाट पीटीआईका उम्मेदवार गुलाम सरावर खानसँग ३५ हजार मतान्तरले पराजित भए।
त्यस्तै पेशावरबाट अवामी नेशनल पाटी एएनपीका नेता गुलाम अहमद व्लोइर समेत पीटीआईका सौकत अलीसँग पराजित भए। उनी आफ्नो पराजय सार्वजनिक रुपमा स्वीकार गर्ने पहिलो नेता समेत हुन्। निर्वाचन अभियानको क्रममा भएको आत्मघाती बम विष्टोमा उनका भतिज तथा उम्मेदवारको मृत्यु भएको थियो।