PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आफ्नै नेतृत्वमा मेडिकल कलेज थपिँदा समस्या आएको कांग्रेसद्वारा स्वीकार, भन्यो : त्यही भएर माथेमा आयोग र विधेयक ल्यायौं



नेत्र तामाङ

आफ्नै नेतृत्वमा मेडिकल कलेज थपिँदा समस्या आएको कांग्रेसद्वारा स्वीकार, भन्यो : त्यही भएर माथेमा आयोग र विधेयक ल्यायौं

काठमाडौं : नेपाली कांग्रेसले आफ्नै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज स्थापना भएको स्वीकार्दै संख्यासँगै समस्यासमेत बढेको जनाएको छ।

‘कांग्रेसकै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज पुगेका हुन्। संख्या बढेपछि समस्या पनि बढे,’ नेपाली कांग्रेसले आज आफ्नै कारण समस्या सिर्जना भएको स्वीकार्दै समाधानको पहल पनि आफैँले गरेको जनाउँदै भनेको छ, ‘समाधानका लागि डाक्टर केसीको माग सुनुवाई गर्दै माथेमा कार्यदल कांग्रेसले नै गठन गरेको हो। माग पूरा गर्दै अध्यादेश कांग्रेस सरकारले नै जारी गरेको हो।’

शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार र अग्रगतिका लागि कांग्रेस निरन्तर अगाडि बढ्ने जनाउँदै आगामी १५ गते सबै जिल्ला सदरमुकाममा एकदिने विरोध प्रदर्शन कायम राख्ने जनाएको छ। संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा, चर्को मुल्यवृद्धि, उपकूलप्रति अपमानजनक व्यवहार लगायतका मुद्दामा कांग्रेसले विरोध कार्यक्रम गर्न लागेको हो।

कांग्रेसले जारी गरेको अध्यादेशको मर्मविपरित विधेयक ल्याइएकाले सडक आन्दोलनमा उत्रिन परेको कांग्रेसको भनाइ छ। त्यही विधेयकको विरोधमा डाक्टर गोविन्द केसी अनशनमा थिए। हिजोमात्र अनशन तोडिएको हो। 

चिकित्सा शिक्षाको विषयमा कांग्रेसले सुधारको थालनी गरेको दावी गर्दै कांग्रेसले आफ्ना कदम सहि प्रमाणित भएको जनाएको छ। केसीको आन्दोलनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो। 

साथै कांग्रेसले हिजो भएको सहमतिलाई स्वागत गर्दै त्यसको इमान्दार कार्यान्वय हुनुपर्ने जनाएको छ। साथै हिजोको सहमतिकै कारण संसदमा विध्यकप्रतिको विरोध सूचना आज फिर्ता लिइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

‘डाक्टर केसीको लामो अनशन, संसदमा नेपाली कांग्रेसको सशक्त प्रस्तुती, सडकमा हजारौंको प्रदर्शन पश्चात अन्तत: जनभावनाको कदर गर्न सरकार वाध्य भयो,’ कांग्रेसले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ,  ‘बहुमत र विवेकको जब द्वन्द्व हुन्छ, अन्तत: विवेकले जित्छ र जित्नुपर्छ भन्ने ऐतिहासिक पाठ यो प्रकरणबाट सरकारले आत्मसाथ गर्नेछ भन्ने आशा लिएका छौं।’

१५ गतेको प्रदर्शनमा डा केसी र सरकारबीचको सहमति कार्यन्वयनमा ढिलाई नगर्न खबरदारी गर्ने कांग्रेस प्रवक्ता शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell