काठमाडौं : सिल्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन काठमाडौँमा जारी अन्नपूर्ण पोष्ट इन्टरनेशनल ब्याड्मिन्टनको दोहोरो उपाधि नजिक पुगेका छन्। यस्तै एपीएफका दिपेश धामी तीन स्पर्धाको फाइनलमा पुगेका छन्।
शुक्रवार भएको सेमिफाइनलमा प्रिन्स र रसालले सिनियर र यू-१९ क्याटेगोरीमा जित हात पार्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै दिपेशले मेन्स सिंगल्स सहित मेन्स डबल्स र मिक्स डबल्सको फाइनलमा पुगेका हुन्।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको प्रतियोगिताको मेन्स सिंगल्सलमा प्रिन्सले रुकेश महर्जनलाई २१-१४, २१-१६ को सेटमा हराए।
उनले अब उपाधिका लागि एपीएफका दिपेश धामीसँग खेल्नेछन्। धामीले बंगलादेशका मोहम्मद सलमान खानलाई २१-१५, २१-१३ को सेटमा पराजित गरे।
यू-१९ मेन्समा सेमिफाइनलमा पनि प्रिन्सले रुकेशलाई नै २-० को सेटमा हराए। प्रिन्सले रुकेशलाई २१-१७, २१-१० ले पराजित गरे। प्रिन्सले यू-१९ फाइनलमा त्रिभुवन बर्मीका प्रफुल महर्जनसँग खेल्नेछन। प्रफुलले सेमिफाइनलमा आर्मीकै पविन लिनथेपलाई २१-१०, २१-११ को सेटमा हराए।
यस्तै वुमन्स सिंगल्सतर्फ रसिलाले सेमिफाइनलमा आफ्नै क्लबकी नङ्गशल तामाङलाई २-० को सेटमा हराइन्। पहिलो सेट २१-११ ले सहजै जितेकी रसिलाले दोस्रो सेटमा भने नङ्शललाई हराउन कडा संघर्ष गर्नुपर्यो र २४-२२ ले सेट जितिन्।
गर्ल्स यू-१९ मा रसिलाले कञ्चनपुरकी रचना भट्टलाई २१-८, २१-१२ तथा नेपाल पुलिसकी जेसिका गुरुङले प्रदेश १ की निता लम्साललाई २१-१५, २१-१६ को सेटमा हराए।
मेन्स डबल्समा दिपेशले विजित थापा मगरसँग मिलेर प्रदेश ४ का विशाल बस्नेत र बिधान अधिकारीको जोडीलाई २१-१३, २४-२२ को सेटमा हराए।
यस्तै भारतका रन्जन बोरागोहाइन र अन्ज बोरागोहाइनको जोडी बाँकेका रियाज र इफ्रान अन्सारीको जोडीलाई २१-९, २१-१७ को सेटमा हराँदै मेन्स डबल्सको फाइनलमा प्रवेश गरेका छन्।
यसैगरी मिक्स डबल्समा दिपेश र पुजा श्रेष्ठको जोशीले आर्मीका सुरज महर्जन र अमिता गिरीको जोडीलाई २१-१६, २१-१६ को सेटमा हराए भने आर्मीका प्रफुल र नङ्गशलको जोडीले निर विक्रम देवकोटा र सीता राईको जोडीलाई २१-१२, २१-१६ को सेटमा पराजित गरे।