PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

एसिया गेम्सको लागि वैदेशिक प्रशिक्षण लिन नेपाली उसु टोली चीन प्रस्थान



पहिलोपोस्ट

एसिया गेम्सको लागि वैदेशिक प्रशिक्षण लिन नेपाली उसु टोली चीन प्रस्थान

काठमाडौं : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीन प्रस्थान गरेको छ। ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सी प्रस्थान गरेको छ।

पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

अर्का पुरुष खेलाडी वीरमान लामा भने हाललाई टोलीमा समावेश छैनन्। उनी ढाँडको नशा च्यापिएका कारण शल्यक्रिया गरी चावहिलस्थित दीर्घायु अस्पतालमा उपचाररत छन्। आइतबारसम्म डिस्चार्ज हुने वीरमानले बताए। वीरमान ६५ केजी तौलसमूहका लागि छनोट भएका खेलाडी हुन्।

महिलाको ५२ केजमीमा जुनी राई, ६० केजीमा लुमन्ति श्रेष्ठ, छान् छ्वानमा सुस्मिता तामाङ र नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन पनि टोलीसंगै चीन गएका छन्। मुख्य प्रशिक्षक अम्बरकुमार थिङ र व्यवस्थापक लाक्पा छिरिङ लामा भने पछि जाने छन्।

करिब २० दिनको प्रशिक्षणपछि टोली साउन ३० गते चीनबाट इन्डोनेसिया जाने कार्यक्रम छ। उसुको प्रतिस्पर्धा भदौ ३ देखि ७ गतेसम्म जकार्तामा हुनेछ। १९९० मा बेइजिङमा भएको एसियाडको ११ संस्करणदेखि नेपालले उसुमा सहभागिता जनाउन लागेको थियो। त्यो क्रममा हालसम्म निरन्तरता पाइरहेको छ।

टोलीलाई नेपाल उसु संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले बिदाइ गरे। सोही कार्यक्रममा रामेछाप जिल्ला उसु संघका अध्यक्ष लानम लामाद्वारा प्रायोजित टिसर्ट पनि टोलीका सदस्यलाई हस्तान्तरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell