
बुधवार सम्पन्न निर्वाचनमा ठूलो दल बनेको पाकिस्तान तेहारिक–ए–इन्साफ (पीटीआइ)का प्रमुख पूर्व क्रिकेटर इमरान खान सरकार गठनको तयारीमा जुटेका छन्। उनले शुक्रबार देखि छलफललाई अगाडि बढाएका हुन्।
केन्द्रसँगै पीटीआईले पञ्जाबमा समेत गठबन्धन सरकार गठनको तयारी समेत गरेको छ। यसका लागि उसले अन्य साना दल तथा स्वतन्त्र निर्वाचित सांसदहरुको अंकगणित सुरु गरेको छ।
पाकिस्तानको बुधवार सम्पन्न निर्वाचनमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ११६ स्थानमा जित हासिल गर्दै ठूलो दल बनेको छ। पीएमएल–एन दोस्रो र सिबिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी तेस्रो भएको छ। उनीहरुले क्रमशः ६४ र ४३ सिट हात पारेका छन् ।
बहुमतको सरकार गठनका लागि १ सय ३७ सीट आवश्यक पर्छ। इमरानको पार्टीलाई २२ सिट अपुग भएकाले उनले अब गठबन्धन सरकार गठनका लागि अन्य दलहरुसँग हात अघि बढाउनुपर्ने बाध्यता इमरानसँग रहेको अल जजिराले जनाएको छ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी उनको गठबन्धनमा नआउने पक्का नै छ। यस्तोमा भुट्टोको पार्टी पीपीपी र अन्य साना तथा स्वतन्त्र सांसदहरूको साथ पीटीआर्इलार्इ आवश्यक पर्छ।
पीटीआइका नेता जेहागिर तरिनले साना दल तथा स्वतन्त्र सांसदहरूसँगको सम्पर्क बढाएका छन्। उनले मुत्ताहिडा क्वामी मुभमेन्टका प्रमुख खालिद मकवुल सिद्दिकीसँग छलफल गरेका छन्।
यो जितसँगै इमरानले आफ्नो जितका लागि २२ वर्ष संघर्ष गरेको भन्दै त्यसको परिणाम अहिले पाएको प्रतिक्रिया दिएका छन्।
'यो संघर्ष मैले २२ वर्ष पहिले सुरू गरे र आज खुसी छु। मैले देशका लागि जे सपना देखेको छु त्यो पूरा गर्ने अवसर मलार्इ दिइएको छ,' अलजजिरासँग इमरानले भनेका छन्, 'हामीले पाकिस्तानलार्इ यसरी अगाडि बढाउने जुन पहिले भएको थिएन्।'
पराजित दलहरूको मोर्चा
यता चुनावमा हार व्यहोरेका पाकिस्तानका १ दर्जन दलहरुले परिणाम अमान्य भएको घोषणा गरेका छन्।चुनावको स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन्। असन्तुष्ट ती दलहरुले पुनः निर्वाचनको मागसमेत गरेका छन्।
पूर्व प्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)सहितका दलहरुले संयुक्त सम्मेलन गरी पुनःनिर्वाचनको माग गर्ने निर्णय गरको डन न्यूजले जनाएको छ।
परिणामप्रति असन्तुष्ट दलहरुले पुनः निर्वाचनको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसले इमरानलाई केही असजिलो पर्ने अनुमान गरिएको छ।
शुक्रवार संयुक्त पत्रकार सम्मेलनमा एमएमए प्रमुख मौलाना फज्लुर रहेमानले भनेका छन्, ’हामी यो निर्वाचनलाई जनताको म्यान्डेट मान्दैनौँ। तर यो जनताको म्यान्डेट चोरिएको हो।’
निर्वाचनमा धाँधली भएको आरोप लगाएका पार्टीहरूको सम्मेलनको अध्यक्षता पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ तथा पीएमएल-एनका अध्यक्षा शहवाज सरिफले गरेका थिए।
एमएमएका नेता मियान अस्लमको घरमा भएको भेलाले निर्वाचनलाई पूर्ण रूपमा अस्वीकार गरेको घोषणा रहेमानले गरेको डन न्यूजले जनाएको छ।
निर्वाचनको परिणाम अस्वीकार गर्ने दलका विजयी सांसदहरूले सपथ समेत नलिने बताएका छन्।
यसैबीच निर्वाचनमा तेस्रो दल पाकिस्तान पिपल्स पार्टी भने यो सभामा सहभागि भएन्। उसले यसबारेमा निर्णय एक्लैले गर्ने भन्दै सभामा नगएको हो।
निर्वाचन परिणाम विरोधी भेलामा जमात इस्लाम (जेआई)का प्रमुख सिनेटर सिरजुल हक, सिन्ध प्रान्तका गभर्नर मोहम्रमद जुबेर, गिल्गित बाल्टिस्तानका मुख्यमन्त्री हाफिजुर रहेमान, आजाद जम्मु एण्ड कस्मिरका प्रधानमन्त्री राजा फारूक हैदर, अवामी नेशनल पार्टीका प्रमुख वाली खान, क्वामी वतन पार्टीका प्रमुख अबताप अहमद खान पाख्तुन्वा मिल्ली अवामी पार्टीका प्रमुख मेहमुद खानसहितको उपस्थिति थियो।
यो भेलामा पूर्व प्रधानमन्त्री शाहीद खाकन अब्बासी, पूर्वमन्त्रीहरू मरियम औरंगजेव, पाक सर्ज्मिन पार्टीका प्रमुख मुस्ताफा कमलको समेत उपस्थिति थियो।
नवाजको पार्टीले संसद बहिस्कार नगर्ने
यसैबीच बहिस्कारवादी पार्टीको भेलाको नेतृत्व गरेको सरिफको पाटी पीएमएल–एनले संसद बहिस्कार नगर्ने भएको छ। उसले सैद्धान्तिक रुपमा उसले संसद बहिस्कार नगर्ने तर संसदभित्रै निर्वाचनमा भएको धाँधलीको बारेमा लड्ने निर्णय गरेको हो।बैठकले केन्द्रमा निर्वाचनमा भएको धाँधलीबारे आक्रमक नीति अंगिकार गर्दै पञ्जाबमा सरकार बनाउने निर्णय गरेको स्रोतलाई उदृत गर्दै डनले लेखेको छ।
उसले यसका लागि पूर्व प्रधानमन्त्री स्व. बेनिजिर भुट्टोको पार्टी पाकिस्तास्न पिपुल्स पार्टीसहितका विपक्षी दलको गठबन्धन बनाउने समेत निर्णय गरेको छ।
पाकिस्तानको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनमा धाँधली भएको आरोपको खण्डन गर्दै त्यसका लागि सबै प्रमाणहरु जनतालाई दिन सक्ने बताएका छन्।
राष्ट्र संघको स्वागत
यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रसले पाकिस्तानमा निर्वाचन सम्पन्न भइ नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको भन्दै पाकिस्तानी जनतालाई बधाई दिएका छन्।उनले पाकिस्तानमा नयाँ सरकार गठन छिट्टो होस भन्ने अपेक्षा समेत राखेको उनले बताएका छन्। ‘मतदान गर्ने संवैधानिक अधिकारको प्रयोग गर्दै पाकिस्तानी जनताले प्रजातान्त्रिक पाकिस्तान प्रतिको आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्,’ महासचिवका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ,।
महासचिवले पाकिस्तानमा निर्वाचन सम्पन्न गरेको भन्दै पाकिस्तानको निर्वाचन आयोगलाई समेत बधाई ज्ञापन गरेका छन्। उनले पाकिस्तानमा महिलाहरुको सहभागिताका लागि तालिम प्रदान गरेको साथै अल्पसंख्यक तथा अपांगता भएकाहरुका मतदानको अधिकार सुरक्षित गर्न सहयोग पराएको भन्दै महासचिव गुटेर्रसले प्रसंसा गरेका छन्।
उनले पाकिस्तानी जनतालाई अब बन्ने सरकारले स्थायी, प्रजातान्त्रिक समृद्ध भविष्य प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन्।
यसैबीच पाकिस्तानका लागि साउदी अरेवियाका राजदुत हसम विन सिद्दिकीले इमरान खानसँग भेट गरी साउदी सरकारको तर्फबाट जितका लागि बधार्इ ज्ञापन गर्दै नयाँ सरकारसँग साझेदारी गरेर अगाडि बढ्न साउदी सरकार चाहेको सन्देश दिएका छन्।