काठमाडौँः अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रुपन्देही तिलोत्मा नगरपालिका वडा नम्बर ८ झुलेनीपुरका २८ वर्षीय रामप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो। न्यौपानेले पाकिस्तानी नागरिक सोयब खान र मुनिर वकाससँग मिलेर भिओआइपी सञ्चालन गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। पाकिस्तानी नगरिकसँग न्यौपानेको फेसबुकमार्फत सम्पर्क भएको प्रहरीले जनाएको छ।
तीन महिना अगाडि भिओआइपी सञ्चालन गर्न सोयब खानले हङकङबाट डिएचएलमार्फत उपकरणहरू एमप्लिफायरको बाकसमा हाली नेपाल पठाएको थिए। सोयब खान कराँचीमा बस्ने गरेको खुल्न आएको छ। खानले पाकिस्तानबाट नै रामप्रसादलाई भिओआइपी सञ्चालन बारे जानकारी दिने गरेका थिए। मुनिर वकास हाल टर्कीमा बस्ने गरेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोले स्थापनाकाल देखि हालसम्म १०६ स्थानहरूमा भएको कारबाहीमा १६४ जनालाई पक्राउ गरिएको । जसमा ३४ जना विदेशी नागरिक समेत रहेका छन्। पक्राउ परेकाविरुद्ध ११ अर्ब ९१ करोड बराबरको बिगो माग दाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ। भिओआइपीमा प्रयोग हुने २३ हजार थान विभिन्न कम्पनीका सिम समेत बरामद गरेको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कुनै व्यक्तिले बद्नियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्छ। यस्तो अपराध भएमा वा गरेमा ऐनको सोही दफा अनुसार नै हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।