PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

तेस्रो हप्तामा ‘बोबी’ : मिडियाको प्रचारले सफल, मेकिङमा असफल



पहिलोपोस्ट

तेस्रो हप्तामा ‘बोबी’ : मिडियाको प्रचारले सफल, मेकिङमा असफल

पोखरामा इन्जिनियरिङ पढिरहेको केटासँग एसएलसी सकाएर मामाघर गएकी केटीको भेट हुन्छ। दुवै नजिकिन्छन्। प्रेम हुन्छ।

मन मिले पनि यी दुईको ‘जात’ मिल्दैन। केटा थापा क्षेत्री र केटी धनाड्य गुरुङ समुदायकी। १९ वर्ष अघिको घटना हो। त्यसैले अन्तर जातीय प्रेम वा विवाह परिवार वा समाजले स्वीकार्नु सहज पक्कै थिएन। त्यसमाथि दुईको हकमा पारिवारिक प्रतिष्ठाले पनि विवाह रोक्न सक्थ्यो। त्यसैले पोखराबाट भागे। केटाले घर लेलेमा ल्याए। र, विवाह गरे। त्यसपछि प्रेम र विवाहकै कारण घटनाको मुख्य पात्रहरु उमेश थापा र कविता गुरुङले विभिन्न मानसिक, सामाजिक, आर्थिक उताव चडावको सामना गर्नु पर्यो।

यही प्रेमकथालाई पर्दामा उतारे निर्माता तथा निर्देशक मिलन चाम्सले। अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘बोबी’ बन्यो। फिल्मले तेस्रो सातामा पनि मल्टिप्लेक्समा हल पाउने निश्चित छ। फिल्म वितरक गोविन्द शाहीका अनुसार फिल्मले काठमाडौंमा ४० लाखको नेट कलेक्सन गरिसकेको छ। निर्देशक चाम्सले भने देशभरबाट करोडमाथिको ग्रस कलेक्सन भएको बताए।

तर, फिल्म चल्नु र राम्रो हुनु फरक कुरा हो। निर्देशकले सफल प्रेम कथालाई दर्शकमाझ प्रस्तुत गर्ने कोसिस त गरे तर दर्शकको संवेदना छुन सकेन। प्रस्तुति र अभिनयको पाटोमा कमजोर लाग्छ।

अन्तरजातीय भनिए पनि फिल्ममा जातका कारण सिर्जना भएको द्वन्द्वले अलिकति पनि ठाउँ पाएको छैन। जुन संघर्षको कथा कविता र उमेशले अन्तर्वातामा सुनाए। त्यसले धेरैलाई फिल्म हेर्न मन लाग्ने बनायो होला तर फिल्ममा त्यही कुरा निकै सतहमा देखाइएको छ।

‘जातलाई मुद्दा नबनाउनुको कारण पात्रहरुले चाहेको प्राइभेसी हो। मैले प्रेमकथा देखाउन खोज्दा उनीहरुको पारिवारिक वातावरण बिग्रन त भएन नि’, निर्देशक चाम्सले भने। उनले मुख्य विषय सफल प्रेमकथा देखाउनु भएकाले कविता र उमेशमै केन्द्रित रहेको बताए।

यस्ता छन् बोबीका दुर्बल पक्ष

अभिनय: रियल लाइफ जोडीले अभिनय गरेको फिल्ममा सबैभन्दा कमजोर पाटो नै कलाकारहरुको अभिनय हो। कविता र उमेशले आफ्नै जीवनको कथालाई न्याय दिन सकेनन्। उनीहरुको अभिनय बनावटी देखिन्छ। युवावस्थाको चरित्र पनि आफै निभाउन खोज्नुले त झन् दुवैलाई निकै कमजोर बनाएको छ। निर्माता/ निर्देशक चाम्सले कुनै कलाकारलाई नै उक्त भूमिका दिएको भए सायद कथा केही जिवन्त लाग्न सक्थ्यो।

मुख्य बाहेक केटीको काका बनेका विजय लामा, सुरबिर पण्डित, केटाका आमाबुवा बनेका देशभक्त खनाल र रश्मी भट्ट, रुबी राणा लगायतले भने आफ्नो चरित्रलाई कुशलतापूर्वक निभाएका छन्।

पटकथा: कथा भएर पनि कमजोर पटकथाको शिकार बनेको फिल्म हो बोबी। धेरै कुरा देखाएर नि थोरै मात्र भन्न सकेको छ। पटकथामा ध्यान नदिइनुले दर्शकको ध्यान बाँध्न सक्दैन। ‘अब के होला?’ भन्ने कौतहुलता जगाउँदैन। न पात्रसँग हास्न सक्छन् न त रुन नै।

प्रस्तुति: गहिरो सामाजिक तथा प्रेमकथा हो बोबी। तर कथाको सतही प्रस्तुति भएको छ। कुनैपनि घटनाको गहिराईमा दर्शक पुग्न सक्दैनन्। त्यसैले पनि फिल्ममा कुनै किसिमको द्वन्द्व महसुस हुँदैन। मुख्य पात्रहरुले भनेको कथालाई सरर लेखेर लेखेको कथा दृश्यमा उतारिएको छ। यो निर्देशकको कमजोरी हो।

द्वन्द्व नै छैन: कथामा उताव चडाव भएर पनि फिल्ममा उताव चडाव नभएको फिल्म हो बोबी। लम्बेतान छ तर क्लामेक्समा कहिले पनि पुर्याउँदैन। कुनै पनि तहको द्वन्द्व सिर्जना नहुनुले फिल्मसँग दर्शकको संवेदना जोडिदैन।

गीत संगीत: फिल्ममा प्रयोग गीत र संगीत पनि क्याची छैनन्। आजभोलि गीत संगीतलाई कथा र घटनाको मागभन्दा बढी प्रचार सामाग्री बनाइएको छ। कति फिल्मको कति फिल्मको गीतैले प्रचार गरिदिन्छ भने कतिको गीत हिट हुन्छ फिल्म फ्लप। तर बोबीको हकमा दुवै भएन। प्रचार जति सबै कथाका पात्रहरुको अन्तरवार्ताले गरायो।

फिल्म घोषणाको दिनदेखिनै चाम्सले भनेका थिए- ‘बोबी’ मैले आत्मसन्तुष्टिक लागि बनाउन लागेको फिल्म हो। व्यवसायिक हिसाबले सफल भएपनि नभएपनि यो फिल्म रिलिज भएको दिन म खुशी हुन्छु। ‘फिल्म चल्नु नचल्नु सेकेन्डरी कुरा हो। बोबी चल्यो झनै बढी खुशी छु।’

स्टारकास्ट नहुनु, एकसाथ धेरै फिल्म प्रदर्शनमा आउनु जस्ता रिस्कबीच चाम्सले ‘बायोपिक’ भन्दै बोबी रिलिज गराए। समीक्षात्मक रुपमा सफल नभए पनि व्ययसायिक हिसाबमा आफू कमजोर नभएको उनको दाबी छ। दर्शकको जीवनसँग मेल खाने भएकाले फिल्म रुचाइएको उनको अनुभव छ। भन्छन्- सधैं कथा खत्रा हुनु पर्दैन। मन छुने भए पुग्छ। बोबी त्यस्तै कथा हो। म फेरी पनि भन्छु योटपटक नपत्याउने खोलाले बगाएको होइन। दर्शकले पत्याएकै खोलाले बगायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell