PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मलेसियाका मन्त्री भन्छन् : विचौलिया नराखी सरकार-सरकारमार्फत् नेपाली कामदार ल्याइनेछ



विधुर ढकाल

मलेसियाका मन्त्री भन्छन् : विचौलिया नराखी सरकार-सरकारमार्फत् नेपाली कामदार ल्याइनेछ

काठमाडौं : मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग मलेसियामा नेपाली कामदार पठाउन लगाइएको प्रतिबन्धमा पुनःविचार गर्न आग्रह गरेका छन्। पछिल्लो समय मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको भन्दै त्यहाँका मन्त्रीले यस्तो आग्रह गरेको मलेसियाको समाचार दी स्टारले जनाएको छ। 

मलेसियाका धेरै उद्योगहरु विदेशी कामदारमा निर्भर रहेको भन्दै उनले मलेसियामा आउने कामदारहरुका लागि अन्य उपायहरु समेत अपनाउने बताएका छन्। 

‘नेपाली कामदारहरु आफ्नो बहादुरी र इमान्दारिताले चिनिएका छन्। धेरै मलेसियाली रोजगारदाताहरुले उनीहरुलाई अनुबन्ध गर्न चाहन्छन्,’ शनिबार एक केमिकल कम्पनीमा आयोजित कार्यक्रममा भने, ‘हामीलाई विश्वास छ। यो बेला नेपालले यसलाई सहज रुपमा लिएर आफ्नो निर्णय प्रति पुनःविचार गर्नेछ।’ 

मलेसियाको कडा अध्यागमन नीतिका कारण नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो। 

मन्त्री कुलशेखरनले कामदार अनुबन्धन गर्नका लागि तेस्रो पक्षको संलग्नताबाट हुने समस्याका बारेमा आफू जानकार रहेको समेत बताएका छन्। 

‘यी सबै समस्याहरु अघिल्लो सरकारका कारण भएका हुन् र हामी यसलाई समाधान गर्न कसरी सकिन्छ भन्ने बारे अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘मन्त्रिपरिषदले यस विषयमा छलफल गरिसकेको छ। र, मैले समस्या समाधानका लागि आकस्मिक कदमको विषयमा कार्यपत्र बनाउँदैछु।’

उनले पछिल्ला दुई साता मलेसियाली सरकारले नेपाल सरकारका अधिकारीहरुसँग समस्या समाधानका लागि छलफल गरिरहेको बताए। 
‘सोमबार मैले नेपालका उच्च अधिकारीसमक्ष सम्पर्क गर्नेछु। विचौलियाको प्रयोग नगरी सरकारले जीटुजी प्रक्रियाबाट कामदार ल्याउन सुरु गर्ने छ,’ उनले भने। 

मलेसियामा सरकारले विदेशी कामदारमाथि सुरक्षा, स्वास्थ्य परीक्षण, भीसा शूल्कवापत संस्थागत रुपमै अर्बौँको ठगी गरेको भन्दै नेपालले मलेसिया कामदार पठाउन रोक लगाएको हो। 

मलेसियाको डेली स्टारले क्वालाम्पुरस्थित नेपाली दुतावासीका श्रम-सहचारी सानमाया रम्तेलाई उदृत गर्दै समाचारमा लेखेको छ- ‘नेपाल सरकारले मलेसियामा कामदार भर्ना गर्ने समयमा विभिन्न समस्याहरु उल्लेख गरेको छ।’


‘मलेसियाले किन कामदार भर्नाका लागि निजी कम्पनीको एकाधिकारलाई बढावा दिएको छ भन्ने नेपाल सरकारले बुझ्न सकेको छैन्। कामदार छनोटमा तथा भिसा प्रोसेसिङमा निजी कम्पनीको एकाधिकारले कामदारमाथि उच्च आर्थिक भार परिरहेको तथ्य नेपाल सरकारले महसुस गरेको छ,’ रम्तेलले भनेकी छिन्। 

मलेसिया नेपाली कामदारहरुका लागि ठूलो रोजगारीको गन्तव्य हो। नेपालका गोर्खाहरु मलेसियामा सुरक्षा लाइनमा खोजिने कामदारमध्ये हुन्। 
यो समस्या नेपाल सरकार र मलेसियाली सरकारबीचको लामो विवाद हो। नेपालमा नयाँ सरकार आएपछि आफ्नो अडानलाई कायम राख्दै यो कदम चालेको समाचारमा भनिएको छ। नेपाल मलेसियामा इन्डोनेसियापछि कामदार पूर्ति गर्ने दोस्रो देश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell