
काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको छ। शुक्रबारबाट आइतबार सारिएको बैठकबाट पनि अनुमोदनसम्बन्धी निर्णय नहुने समिति स्रोतले बतायो। अनौपचारिक छलफल जारी रहे पनि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक बोलाइने भएको छ। प्रमाणपत्र विवादका करण अनुमाेदनसम्बन्धी निर्णय प्रक्रिया रोकिएको हो।
समिति स्रोतले भन्यो ‘विवादका विषयमा हामी पाएका आधार प्रमाण परीक्षणका क्रममा छौँ। समितिमा आज अनौपचारिक छलफलमात्र हुन्छ। निर्णयका लागि भोलि २ बजे बैठक बोलाउने तयारी भएको छ।’
जोशीको गत बिहीबार नै सुनुवाइ सकिए पनि निर्णय भएको छैन। सुनुवाइकै क्रममा उनको शैक्षिक योग्यताको विवादले प्रवेश पाएपछि समितिले अध्ययन गरिरहेको छ। समितिले अध्ययनका लागि भन्दै शुक्रबारको बैठक पनि सारेको थियो।
यसअघि जोशीले सुनुवाइ समितिमा पेस गरेको प्रमाणपत्रको प्रतिलिपिमा पेस गरेका थिए। एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ।
समितिमा प्रधानन्यायाधीशले पेस गरेको प्रोग्रेस रिपोर्टमा विद्यालय तहको परीक्षाको विवरण संलग्न छ। विजय मेमोरियल स्कुलबाट २०२९ सालमा परीक्षा उतीर्ण गर्दाको रोल नम्बर ३६६७ रहेको छ। तर समिति सदस्हरुले उक्त रेकर्ड नमिलको थप तथ्य फेला परेको भन्दै थप छानबिनको पक्षमा छन्।