काठमाडौं : विश्वको सबैभन्दा ठूलो खेल मेलामा ओलम्पिकमा सहभागिता जनाएका नेपाली खेलाडीले अब देखि मासिक ३ हजार भत्ता पाउने छन्।
आर्थिक वर्ष २०७५/७६ देखि ओलम्पियनलाई आजिवन भत्ता दिने युवा तथा खेलकुद मन्त्रालयको निर्णय अनुसार आइतवार ओलम्पिक खेलेका नेपाली खेलाडी नगदसहित सम्मानित भए। अब उनीहरुले मासिक ३-३ हजार नगद पाउनेछन्।
नेपालबाट अहिलेसम्म ओलम्पिक भाग लिएका ८० खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो। त्यसमध्ये केही खेलाडीको निधन भइसकेको छ। सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकबाट नेपालले पनि खेल्न सुरु गरेको थियो।
पछिल्लो पटक सन् २०१४ मा ब्राजिलको रियोमा भएको ओलम्पिकमा नेपालका ७ खेलाडीले भाग लिएका थिए।
ओलम्पिकमा सहभागिता जनाएको ५ दशक भन्दा बढी भएपनि नेपालले अहिलेसम्म पदक भने जित्न सकेको छैन।
रियो ओलम्पिकमा सहभागिता जनाएका पौडी खेलाडी शिरिष गुरुङ
ओलम्पियन खेलाडीलाई मासिक नगद वितरण सुरु भएकोमा खेलाडीहरुमा उत्साह भएपनि यतिले नपुग्ने र सरकारले उक्त रकममा ट्याक्स काट्न नहुने ओलम्पियन तथा जुडोको प्रशिक्षक देवु थापाले बताइन्। 'नपाउनुभन्दा केही रकम पाउनु ठिक हो तर यतीले मात्र पुग्दैन। आगामी दिनमा सरकारले यो रकमलाई बढाउदै लैजाने भनेका छन्। त्यो कार्यान्वयन होला।' २००८ मा खेलाडीको रुपमा ओलम्पिक खेलेकी देवुले भनिन्। 'यस सम्मानले नयाँ खेलाडीहरुलाई पनि खेल्न थप हौसला मिल्नेछ।'
२०१४ मा फुपूल्हामु खत्रीको प्रशिक्षक बनेर रियो ओलम्पिकमा सहभागिता जनाएकी देवुले साग गेम्समा स्पर्ण पदक मात्र जित्नेलाई मात्र नभई रजत र कास्य जित्नेलाई पनि चाँडै नगदसहित सम्मान गर्नुपर्ने बताइन्। यस्तै उनले ओलम्पियनलाई नगद दने भनेपछि पुराना खेलाडीहरु पनि आएको बताउँदै उनीहरुलाई उचिन सम्मान हुनुपर्ने पनि बताइन्।
सरकारले ओलम्पियनसहित एसियन गेम्समा मेडल जित्ने खेलाडी, साग गेम्समा स्वर्ण जित्ने खेलाडी, विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जित्ने र राखेप च्याम्पियनसमा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित सम्मान गरेको हो।
एसियाली खेलकुदमा सहभागी भइ पदक जितेका ८ खेलाडी तथा दक्षिण एसियाली खेलकुदमा पहिलो संस्करणदेखि १२औं संस्करणसम्मका स्वर्ण विजेता ९६ खेलाडीलाई गत मंसिरदेखिको मासिक ५ हजार भत्ता एकमुष्ट वितरण गरेको छ। ९६ खेलाडीमध्ये तेक्वान्दोका दीपक विष्टको ४, संगीना बैद्यको २, एथ्लेटिक्सका बैकुण्ठ मानन्धरको ३ र करातेका दीपक श्रेष्ठको २ स्वर्ण छ। उनीहरुले प्रति स्वर्ण ५ हजारका दरले ८ महिनाको भत्ता एकमुष्ट पाए।
त्यस्तै गत वर्ष राखेपद्वारा आयोजित राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न खेलका ६२ खेलाडीहरु नगद १५ हजारका दरले सम्मानित भएका छन्।
साग गेम्सअन्तर्गत फुटबलमा स्वर्ण जितेका नेपाली फुटबल टोली
आर्थिक वर्ष २०७४/७४ मा अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा विभिन्न पदक जित्ने ५ खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको छ। जसअन्तर्गत पहिलो विश्व कुन खेमर च्याम्पियनसिप २०१७ मा स्वर्ण जित्ने अनिशा खड्का र राहुल थोकर लामाले नगद १-१ लाख प्राप्त गरे।
बडिबिल्डर ननिता महर्जन
यस्तै विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा रजत जितेकी ननिता महर्जनले ६५ हजार पाइन् भने उक्त प्रतियोगिता कास्य जितेका रुजेशीले ३५ हजार पाए। यसैगरी एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा कास्य जितेका कमल भण्डारीले पनि ३५ हजार पाए।
यस्तै मंसिरमा हुने आठौँ राषट्रिय खेलकुदको लागि छनोट भएको मस्कट, लोगो, गीत र नाराका स्रस्टालाई पनि नगद पुरस्कार र सम्मानपत्रबाट प्रदान गरिएको छ।
यसैगरी खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै नेपाल टेलिभिनका राजु सिलवाल र बिबिसीका निरन्जन राजवंशीलाई ५०-५० हजारसहित सम्मान गरिएको छ।
निरन्जन राजवंशी