PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

कारागारमै विष उत्पादन अनि हत्या : कारागार कति सुरक्षित ?



सविन ढकाल

कारागारमै विष उत्पादन अनि हत्या : कारागार कति सुरक्षित ?

काठमाडौँ : कारागारभित्रै विष उत्पादन अनि परीक्षण! ‘गिनी पिग’ बन्छन् कारागारभित्र कै निर्दोष कैदी। सुन्दा अपत्यारिलो लागे पनि तीतो सत्य। यो विदेशमा होइन नेपालकै सबैभन्दा बढी सुरक्षित ठानिएको उपत्यकाभित्रकै शान्त जिल्ला ललितपुरको घटना हो। 

ललितपुरस्थित नख्खु कारागारमा कैदीले नै जेलभित्र बनाएको विष खाएर गत वैशाख २२ गते कैद भुक्तान गरिरहेकै भक्तबहादुर सुनुवारको अकालमै ज्यान गयो। कैदी मनोजकुमार चौरसिया र अभिषेक सिंहले विभिन्न वनस्पति मिसाएर जेलभित्रै विष बनाएका थिए। ठूलो सुरक्षा जत्थाले घेरिएको कारागार सुरक्षाले विष बनाउने कच्चा पदार्थ भित्रिँदा समेत देख्न र रोक्न सकेन। वा देखे पनि नदेखे झैँ गर्‌यो ?

केही समयअगाडि मात्र जेलबाट धरौटी बुझाएर छुटेका धुव्रकृष्ण शर्मा 'होममेड' विष बनाउन आवश्यक कच्चा पदार्थ ओसारी रहेका थिए। सुरक्षाकर्मी बेखबर। 'मेड इन कारागार' विष खाए भक्तबहादुरको ज्यान गयो। प्रश्न तेर्सिएको छ। कारागार कति सुरक्षित?

कारागार व्यवस्थापन  कार्यविधि २०७३ अनुसार नियमावलीको नियम ५९ अनुसार कारागारभित्र रहेको कैद थुनुवाको निम्ति नातेदार वा इष्टमित्रले खानेकुरा वा अरु सामान दिन चाहेमा त्यस्तो खानेकुरा र सामान कारागार प्रमुखले जाँची अनुमति दिएपछि मात्र कारागारभित्र लैजान दिन मिल्छ। ल्याउने व्यक्तिले खानेकुराको केही अंश ल्याउने व्यक्तिलाई नै खान दिई जाँच गरिन्छ। यति हुँदाहुँदै पनि अवैध सामान कसरी कारागार भित्र पुग्छ ?

कारागार प्रशासनको लापरबाहीले भएको यो पहिलो घटना भने होइन। कारागारभित्र कैदी कुटपिटका कारण मृत्यु, जघन्य प्रकृतिका अपराधका योजना बुन्नेसम्मका घटना बाहिरिएका छन्। भाइ नाइके र नाइकेको गुन्डागर्दी पनि त्यतिकै हुने गरेको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली यस घटनाले आफूहरुलाई थप पाठ सिकाएको बताउँछन्। उनी भन्छन्, 'घटना नै नघट्ने त भन्ने हुँदैन। तर अब यस्ता घटनालाई कसरी समधान गर्ने र कसरी सुरक्षित बनाउन भन्नेतर्फ हाम्रो ध्यान गएको छ।'

देशका ७० जिल्लामा ७४ वटा कारागार रहेका  छन्। अहिले कारागारमा १८ हजार कैदीले सजाय भुक्तान गरिरहेका छन्। क्षमताभन्दा झन्डै दोब्वर कैदीबन्दी कारागारमा छन्। कैदीको सङ्ख्या र अपराधको प्रवृत्ति फेरि पनि कारागारलाई आधुनिकरण गर्न नसक्दा कारागार असुरक्षित बन्दै गएको पूर्वएआइजी नवराज ढकाल बताउँछन्। पूर्वएआइजी ढकाल भन्छन,' कारागारको भौतिक, प्रशासनिक र सुरक्षा क्षेत्रमा सुधार गर्ने नसक्दा समस्याहरु आएका छन्। कारागारमा कार्यरत कर्मचारीलाई प्रशिक्षण र ज्ञानको अभाव हुँदा के सामाग्री लग्न दिने नदिने हेक्का नहुँदा सुरक्षा चुनौति थपिएको हो। सुधार गृहभन्दा पनि जेलकै रुपमा कारागारलाई लिएको छ।'

भिआइपी कैदीको रोजाईमा काठमाडौंका कारागार


कारागारमा कैदीको चाप बढ्नुको कारण सुगम, त्यहाँको प्रशासन फितलो छ र सुविधा बढी भएको ठाउँमा छन्। अन्य कारागारको तुलनामा काठमाडौंको केन्द्रीय कारागार र डिल्लीबजारमा कैदीबन्दीको चाप बढ्नुको कारण सहरको केन्द्रमा हुनु हो। केन्द्रीय कारागार सुन्धारामा अहिले २७ सय कैदी छन्। डिल्लीबजार कारागारमा पनि ५५० भन्दा बढी कैदी छन्। नख्खुमा ८ सयभन्दा बढी।

सहरी क्षेत्रमा रहेकाले भेटघाट गर्न, अस्पताल जान र अदालतमा तारेख धाउन सहज छ। भिआइपी कैदीहरु हुने भएकाले पनि यस्ता कारागारमा अपराध सम्वन्धी योजनाहरु बन्ने गरेको एक प्रहरी अधिकृत बताउँछन्।

भौतिक पूर्वधारमा असुरक्षित कारागार

देशका अधिकांश कारागारहरु भौतिक संरचनामा असुरक्षित छन्। महाभूकम्पपछि भत्किएका कारागार अझै बन्न सकेका छैनन्। खानेपानी, चर्पी, ढल व्यवस्थित छैनन्। कैदी र समय अनुसार कारागारको भौतिक संरचना निर्माण हुन नसक्दा कारागार असरक्षित बन्दै गएको पूर्वएआइजी नवराज ढकाल बताउँछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell