काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना' टिमले गत तीजमा एउटा गीति भिडियो सार्वजनिक गरेको थियो। तीजमै गाइने भाका रहेको 'डानसमा म एक नम्बर' बोलको गीत युट्युब रिलिज भएको हो।
दिनेश राउत र निर्देशक नरेश कुमार केसीको शब्द, कोशिस क्षेत्रीको संगीत तथा दीपा लामा, झुमा निरौला, मिना पोख्रेल निरौलाको स्वर रहेको छ। गीतको भिडियोमा फिल्मका अधिकांश कलाकार देखिएका थिए। गीत रिलिज ताका सबैले फिल्ममा सृष्टि श्रेष्ठ, विनय श्रेष्ठसँगै अभिनेत्री मेनुका प्रधान र बसुन्धरा भुषालको पनि अभिनय रहेको अनुमान लगाएका थिए।
फिल्म यो शुक्रबारबाट प्रदर्शनमा आयो। तर, फिल्ममा यो गीत छैन। गीतसँगै अपेक्षा गरिएका कलाकारहरु मेनुका प्रधान, बसुन्धरा भुषाल नहुनु दर्शकका लागि अचम्मको विषय हुन सक्छ। गीतको भिडियोमा फिल्मको घटनाजस्तो लाग्ने केही दृश्य समेत राखिएको छ।
गीतको हालसम्म यूट्युब हिट्स १६ लाखभन्दा बढि छ।
गीत हटाउनु बारे निर्देशक नरेश फिल्म लम्बिनु रहेको जानकारी दिए। भने,'फिल्म अलि लामो भयो। समय छोट्याउन उक्त गीतको भिडियो हटाइएको हो।'
उनले उक्त भिडियो पोहोर साल तीजको अवसर पारेर तयार गरेको प्रोमोशनल गीतको रुपमा व्याख्या गरे। पछिल्लो समय बलिउडदेखि नेपालमा पनि प्रोमोशनल गीत सार्वजनिक गर्ने ट्रेन्ड चलेको उदाहरण दिए।
फिल्ममा अन्य चार गीत समावेश छन्।