
काठमाडौं : उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी मध्ये एकले जित्ने भएको छ।
आइतवार भएको खेलमा जित हात पार्दै यी दुई टोलीले लगातार तेस्रो खेल जित्दै ९ अंक जोडेका छन्।
सहभागि ५ मध्ये रौतहट जिल्ला टोली तेस्रो हुने पक्का भएको छ। सबै ४ खेल खेलिसकेको रौतहट नेपाल पुलिस र काठमाडौँ जिल्ला टोलीभन्दा अगाडी रहँदै तेस्रो भएको हो।
यस्तै लगातार ३-३ खेल हारेको पुलिस र काठमाडौँ भने अझै अंकविहिन छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको पहिलो खेलमा आर्मीले रौतहटलाई ३-१ ले पराजित गर्दा दोस्रो खेलमा एपीएफले विभागीय प्रतिस्पर्धी पुलिसलाई २-० ले पराजित गर्यो।
आर्मीका लागि शर्मिला थापाले २ तथा दीपा राईले १ गोल गरिन्। रौतहटका लागि रश्मी कुमारी घिसिङले १ गोल फर्काइन्। आर्मीसँग हारेपनि यसअघि काठमाडौँ र पुलिसलाई हराएको रौताहटले ४ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको हो।
उता अर्को खेलमा एपीएफलाई जित दिलाउन अनिता केसी र सरु लिम्बुले १-१ गोल गरिन्।
लगातार तीन खेल जितेको एपीएफ र आर्मीबीच मंगलवार अन्तिम लिग खेल हुनेछ। उक्त खेलमा विजयी हुनेले महिला राष्ट्रिय लिगको उपाधिसहित नगद २ लाख जित्नेछ।
आर्मी विरुद्ध अन्तिम खेलमा बराबरीले मात्र पनि एपीएफ च्याम्पियन बन्नेछ। तर आर्मीको लागि भने उपाधि जित्न एपीएफलाई हराउनै पर्नेछ। यस्तै अंकविहिन रहेका दुई टोली पुलिस र काठमाडौँ पनि मंगलवार प्रतिष्ठाका लागि खेल्दैछन्। शीर्ष तीनकै होडबाट बाहिरिसकेको दुवै टोली जितबाट सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ।