PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्रस्तावित प्रधानन्यायाधीश जोशीका लागि कांग्रेस किन थाप्दैछ काँध?



बीपी साह

प्रस्तावित प्रधानन्यायाधीश जोशीका लागि कांग्रेस किन थाप्दैछ काँध?

काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनवाइ प्रक्रियामा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन्।

सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीलाई अनुमोदन नगर्ने अडानमा छ। कांग्रेस जोशीलाई नै प्रधानन्यायाधीश बनाउनु पर्ने पक्षमा उभिएको छ।

समितिभित्र जोशीको विषयमा छलफलका लागि सत्तापक्षले दुई पटक समय माग गरेको थियो। सोमबार कांग्रेसले समय माग गर्दा सुनवाई समितिको बैठक स्थगित भयो।

सोमबारको बैठकमा जोशीमाथि लागेका आरोपहरुका विषयमा प्रवेश नै नगरी समर्थन र विरोधको कुरा उठेको थियो। कांग्रेसको अनुरोधमा बैठक स्थगित भएपछि कांग्रेसका सांसदहरुले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

छलफलमा सहभागी एक सांसदका अनुसार सभापति देउवाले जोशीलाई बचाउ गर्न सांसदहरुलाई निर्देशन दिए। नेकपाले न्यायालयमा पनि अधिनायकवाद हावी गराउन खोजेको देउवाले बताएका थिए।

जोशीलाई अस्वीकृत गर्नु संविधानको भावनाविपरीत हुने र यसले न्यायालयमा गम्भीर असर पार्ने देउवाले बताएका थिए।

देउवाले नेकपासँग छलफल गर्ने बताउँदै नेकपाले दम्भ देखाए संविधानको मर्म जोगाउन सडकमा जान सक्ने चेतावनी दिएको एक सांसदले बताए।

‘हामीले जोशीका लागि काँध थापेका छैनौँ। संविधानको मर्मविपरीत कार्य नहोस् भनेर चाहेका छौँ’कांग्रेसकी सचेतक पुष्पा भुसालले पहिलोपोस्टसँग भनिन्,‘संविधानको मर्म र भावनाविपरीत हुन दिन्नौँ। समितिबाट कुनै पनि निर्णय हुँदा आधार प्रमाणको भरमा हुनेछ। एकपक्षीय कुरा स्वीकार गर्ने छैनौँ।’

‘जोशीका विषयमा उठेको कतिपय कुराहरुमा सत्यता छैन त्यस विषयमा छलफल हुन बाँकी छ। तर पूर्वाग्रहका आधारमा स्वीकृत गर्ने वा अस्वीकृत गर्नु भएन।’ भुसालले भनिन्।

नेकपाका सांसदहरुले संविधानसम्मत ढंगले नै जोशीलाई अस्वीकृत गर्न सकिने बताएका छन्।

‘जोशीको मुद्दालाई पार्टीको मुद्दा बनाउनु हुँदैन। संसदलाई अधिकार छ, संविधानसम्मत रुपमै सुनवाइ गर्नु र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार छ' नेकपाका सांसद योगेश भट्टराईले पहिलोपोस्टसँग भने, ‘संविधानले नै दिएको अधिकार प्रयोग गर्दा कसरी अधिनायकवाद हुन सक्छ? संविधानले सुनवाइ गर्ने अधिकार किन दियो त?’

‘नियमावलीमा दुई तिहाईले अस्वीकृत गर्न सक्ने किन लेख्नु भयो? कांग्रेसका साथीलाई सोध्न चाहान्छु।’ भट्टराईले प्रश्न गरे,‘संविधानको धारा १०४ ले अधिकार दिएको छ। संविधानसम्मत काम गर्नु र लोकतान्त्रिक प्रक्रियाबाट जानु अधिनायकवाद होइन। आवेग उत्तेजनामा हामीले काम गर्दैनौँ। यसलाई प्रक्रियासम्मत नै अगाडि बढाउँछौँ।’

संसदमा कमजोर प्रतिपक्षीको भूमिका देखिँदै आएको कांग्रेस डा.गोविन्द केसीको मुद्दामा सफलता हात पारेको देखिन्छ।

अहिले पुनः जोशीको विषयलाई उठाएर आफ्नो भूमिका खोज्न थालेको नेकपाका सांसदहरुको बुझाई रहेको छ। एजेण्डाविहीन भएको कांग्रेसले जोशीलाई उचाल्ने प्रयास गर्ने भट्टराईको बुझाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell