PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपाल र भारतका थिंक ट्याङ्क काठमाडौंमा, दुई देशका सम्बन्धमा छलफल



विधुर ढकाल

नेपाल र भारतका थिंक ट्याङ्क काठमाडौंमा, दुई देशका सम्बन्धमा छलफल

काठमाडौं : बदलिँदो परिस्थितिमा नेपाल–भारत सम्बन्धका विविध आयाम माथि छलफल गर्न नेपाल र भारतका थिंक ट्यांकहरु काठमाडौंमा भेला भएका छन्। 

एसियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सको आयोजना पहिलो पटक भएको नेपाल इन्डिया थिंक ट्यांक समिट २०१८ काठमाडौंमा भइरहेको छ। 

समिटमा दुई देशका थिंक ट्यांकहरुले २१ औँ शताब्दीमा नेपाल भारत सम्बन्धको यथार्थ परिभाषासहित इन्डो नेपाल थिंक ट्यांक पार्टनरसीप, आर्थिक साझेदारी, भूराजनीतिक यथार्थता र सुरक्षा व्यवस्थापनका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ। 

समिटमा बोल्दै नेपाल भारतका थिंक ट्यांकहरुले अझै पनि नेपाल भारत सम्बन्धको विश्लेषण पुराना सन्धी सम्झौताको आधारमा हुने गरेको बताए। २१ औँ शताब्दीको सम्बन्धमा आएको परिवर्तनसँगै सम्बन्धमा नयाँ आयाम खोजिनुपर्ने उनीहरुले बताएका हुन्। 

‘अझै पनि नेपाल भारत सम्बन्धको विश्लेषण १०० वर्ष पहिले भएका सन्धी सम्झौताका आधारमा हुने गरेको छ,’ नेपाल डेमोक्रेसी फाउन्डेसनका जय निसान्तले भने, ‘नेपालीमाझ कोशी, गण्डक र महाकाली सन्धीलाई लिएर नेताहरुले नदी भारतलाई बेचे भन्ने कुरा अझै पनि आउँछ। ६० वर्ष अगाडि भएका सम्झौतालाई लिएर दुई देशबीचको सम्बन्धको विष्लेषण हुनु ठीक होइन।’

उनले यी सन्धी सम्झौता सँच्चिकै एक पक्षीय छन् कि छैनन् त्यसको अध्ययन हुन आवश्यक रहेको समेत बताए। 

अब दुई देशका थिंक ट्यांकहरुले किन भारतीय ठूला लगानीकर्ताले नेपालमा लगानी गर्दैनन् भन्ने अध्ययन गर्नुपर्ने समेत बताए। नेपाल भारत सम्बन्धका विविध आयामहरु रहेको भन्दै थिंक ट्यांकहरुले विश्लेषण गर्नुपर्ने उनको भनाई थियो। 

दुई देशबीचको खुला सीमाना दुई देशबीचको सम्बन्धको एउटा अंग भएको तर्क गर्दै उनले सीमा नियमनका नाममा परिचयपत्र लागू गर्न नहुने उनले बताए।
 
‘हालै इपीजीले एउटा प्रतिवेदन तयार पारेको छ। त्यसको एउटा बुँदामा सीमा नियमन तथा सीमा आरापार गर्दा परिचयपत्र लागू गर्ने कुरा आएको छ,’ उनले अगाडि भने, ‘यसले सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकलाई समस्या पर्छ।’

इपीजीमा सीमा क्षेत्रबाट प्रतिनिधित्व नभएको पहाडी क्षेत्रको प्रतिनिधित्वमा रहको भन्दै उनीहरुले सीमा क्षेत्रका बासिन्दाको समस्यालाई नबुझेको आरोप लगाए। 

उनले नेपाल भारत सम्बन्धको विश्लेषण गर्न सक्ने नयाँ पिढीं नआएको समेत बताए। 

‘दुई देशबीचको सम्बन्धमा नयाँ नयाँ आयामहरु आए। तर, थिंक ट्यांकहरु अझै पनि कपाल फुलेका छन्,’ उनले भने। 

त्यस्तै संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि शम्भुराम सिंखडाले नेपाल भारत सम्बन्धको विश्लेषण दुवै देशको सार्वभौमिकता, प्राकृतिक स्रोत र सामरिक सुरक्षाको दृष्टिकोणबाट विश्लेषण गर्नुपर्ने बताए। 

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध  तथा कुटनीति विषयका कोअर्डिनेटर डा. खड्ग केसीले अझै पनि नेपालमा थिंक ट्यांकहरुको कमी रहेको बताए। 

उनले नेपालमा अध्ययन अनुसन्धानका लागि लगानीको कमी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell