
पोखरा : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै नेपाली कांग्रेसले आज पोखरामा विरोध प्रदर्शन गरेको छ।
नेपाली कांग्रस केन्द्रीय समितिले देशब्यापी विरोध प्रदर्शन गर्न गरेको निर्देशन अनुसार र्यालीसहित विरोध प्रदर्शन गरिएको हो।
लोकतान्त्रिक पक्षको रक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद शैलीको विरोध र महँगी नियन्त्रणका एजेण्डासहित कांग्रेस सडकमा उत्रिएको हो।
पोखराको मुख्य बजार पृथ्वी चोकमा नेता तथा कार्यकर्ता भेला भई र्याली सभागृह चोकदेखि न्यूरोड हुँदै वीपी चोकमा पुुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले केपी ओलीको अधिनायवादी सर्वसत्तावादविरुद्ध कांग्रेस आन्दोलन गर्न बाध्य भएको बताए। दुई तिहाई बहुमतको आडमा कम्युनिस्ट सरकारले अधिनायकवादी दम्भ देखाएको उनले आरोप लगाए।
सभामा बोल्ने अन्य बक्ताहरुले सरकारको कार्यशैली, महँगी, बढ्दो अराजकता,भ्रष्टाचार र नेपाली चेलीहरुलाई अपमानित गर्ने दुर्गा प्रसाईलाई तत्कालै कारवाहीको माग गरेका छन्।
विरोध प्रदर्शन कार्यक्रममा तरुण दल, नेविसंघ लगायत सम्वद्ध भातृ संगठनहरुको सहभागिता थियो।