काठमाडौं : सशस्त्र प्रहरीबलमा कार्यरत सुरक्षाकर्मीले राजीनामा दिने क्रम ह्वातै बढेको छ। गएको तीन महिनामा मात्र ७ सय ८६ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्।
असार महिनमा राजीनामा दिनेको सङ्ख्या गएको दुई महिनाभन्दा झन्डै चार गुणाले बढेको छ। असारमा एक प्रहरी निरीक्षक सहित ५ सय २६ जनाले राजीनामा दिएका हुन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुरामा पाण्डेले समयमा नै कर्मचारीको वृत्तिविकास गर्न नसक्दा राजीनामा दिनेको सङ्या्म बढेको बताए। डिआइजी पाण्डेले भने, 'राजीनामा दिने धेरै जसो संगठनमा १६ वर्षसम्म काम गरेका छन्। उनीहरुले बढुवा ढिलो भएकाले राजीनामा दिएको हुनुपर्छ।'
गत वैसाखमा सय, जेठमा १६० र असारमा ५ सय २६ जनाले राजीनामा दिएका हुन्। यसरी राजीनामा दिनेहरुमा ३ जना प्रहरी निरीक्षक, २७ जना प्रहरी नायव निरीक्षक, १३३ जना प्रहरी सहायक निरीक्षक, ४६५ प्रहरी बरिष्ठ हवल्दार, ३१ जना प्रहरी हवल्दार, २२ जना प्रहरी सहायक हवल्दार, ९८ जना प्रहरी जवान लगायत छन्। बढ्दो राजीनामा रोक्न समयमा बढुवा लगायतमा ध्यान दिने डिआइजी पाण्डेले बताए।
तीन महिनमा ७१४ जना प्रहरीको बढुवा गरिएको छ।हाल सशस्त्र प्रहरी बलमा ३७ हजार १ सय १७ जना सुरक्षाकर्मी कार्यरत छन्।