PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बन्दै, २२५ केन्द्रीय समितिको तयारी



विधुर ढकाल

प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बन्दै, २२५ केन्द्रीय समितिको तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट पत्रकारहरूको संगठनहरुको एकताको तयारी अन्तिम चरणमा पुगेको छ। तत्कालीन नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपालको एकीकरणको तयारी अन्तिम चरणमा पुगेको 

दुई संगठनको एकतासँगै नयाँ संगठनको घोषणा आगामी साता गर्ने तयारी भइरहेको छ। एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम प्रेस संगठन नेपाल (पोन) सहितको विधानलाई टुंगो लगाएको छ।
 
चौतारी र सेन्टरबीच एकताका लागि गठन भएको कार्यदलले प्रेस संगठन नेपालको विधान पारित गरेको हो। 

तत्कालीन प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष तथा ने क पाका केन्द्रीय सदस्य विष्णु रिजालले संगठनको विधान पारित भएको र संगठनको एकताको यसै साता हुने जानकारी दिए। 

यसरी बन्ने एकीकृत संगठनको केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ। कार्यदलले पारित गरेको विधानलाई पार्टी समक्ष पेस गरिँदै छ। पार्टीले विधानलाई स्वीकृत दिएपछि एकताको घोषणा गर्ने तयारी भइरहेको छ। 

केन्द्रीय कमिटीमा अध्यक्ष र महासचिव रहने छन्। त्यस्तै विधानमा अध्यक्ष र सचिव सहितको १२५ सदस्यीय प्रदेश कमिटी र अध्यक्ष र सचिवसहितको ३५ सदस्यीय जिल्ला समिति बनाउने उल्लेख छ। 

त्यस्तै पोनको अध्यक्ष र सचिवसहितको शाखा कमिटी समेत बनाउने छ। विधानले अध्यक्ष र सचिवसहितको १५ सदस्यीय अनुशासन आयोग र लेखा आयोगको परिकल्पना समेत गरेको तत्कालीन प्रेस चौतारीका महासचिव राजेश राई र तत्कालीन प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

केन्द्रीय कमिटीको एक तिहाइ संख्या रहने गरी केन्द्रीय सचिवालय समेत गठन गरिनेछ। यसै गरी केन्द्रमा केन्द्रीय कमिटीको पचास प्रतिशत नबढ्ने गरी केन्द्रीय सल्लाहकार समितिको समेत परिकल्पना गरिएको छ। 

पोनमा तत्कालीन प्रेस चौतारीबाट ११५ जना र तत्कालीन प्रेस सेन्टरबाट १०५ जना सदस्य रहने गरी भागबन्डा मिलाइएको छ। त्यस्तै पाँच सदस्यपछि केन्द्रीय कमिटीले मनोनीत गर्ने बताइएको छ। 

मंगलबार बसेको कार्यदलको पूर्ण बैठकले आगामी दिन भित्र केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यहरूको सूची तयार गरी कार्यदलले संगठन एकताका लागि पार्टीमा सिफारिस गर्ने निर्णय गरेको छ। 

त्यसपछि एकताको घोषणाको मिति तय हुने छ। एकीकृत पार्टीको अध्यक्ष र महासचिव को बन्ने भन्ने टुंगो लागेको छैन। यद्यपि यस विषयमा पार्टीको सचिवालयले निर्णय गर्ने बताइएको छ। 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा ३ जेठमा पार्टी एकता हुँदा ३ महिनाभित्र पार्टीका भातृ संगठनको एकतालाई टुंगोमा पुराउने बताइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell