PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पहिलो ओडिआई : ज्ञानेन्द्रको अर्धशतकले जिताउन सकेन नेपाललाई, नेदरल्याण्ड्ससँग ५५ रनले पराजित



पहिलोपोस्ट

पहिलो ओडिआई : ज्ञानेन्द्रको अर्धशतकले जिताउन सकेन नेपाललाई, नेदरल्याण्ड्ससँग ५५ रनले पराजित
फोटो : रमन शिवाकोटी

काठमाडौँ : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ।

कप्तान पारसको ४ विकेट लिनुका साथै उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपनि ब्याटिङमा गतिलो प्रदर्शन हुन नसक्दा नेपालले १९० रनको लक्ष्य समेत भेट्टाउन सकेन।

नेदरल्याण्ड्सँग खेलसँगै नेपाल ओडिआई क्रिकेट खेल्ने २३औँ राष्ट्र बनेको छ।

१९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.१ ओभरमा १३४ रनमा अलआउट भयो। नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए। नेपालको पहिलो ओडिआईमा पहिलो रन हान्ने र पहिलो चौका हान्ने खेलाडी बनेका ज्ञानेन्द्र पहिलो अर्धशतक हान्ने खेलाडी समेत बने। यस्तै नेपालको लागि पहिलो छक्का हान्ने खेलाडी बनेका दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए। यस्तै अनिल शाहले २१ तथा कप्तान पारसले १२ रन बनाए।

नेपालका लागि ज्ञानेन्द्र र अनिल शाहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। तर ८५ रनसम्म १ विकेट मात्र गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा सम्हालिन सकेन।

पहिलो ओडिआईमा नेपालका चार खेलाडी शुन्यमा आउट भए। आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले रनको खाता खोल्न सकेनन्।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, माइकल रिप्पोन र कप्तान पिटर सिलरले ३-३ विकेट लिए।

त्यसअघि घरेलु मैदान भिआरएमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले माइकल रिप्पोनको अर्धशतक मद्दतमा ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। रिप्पोनले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा बास डे लिडले ३० तथा स्टेफन माइवर्गले २९ रन जोडे।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ तथा करण केसी, सन्दीप लामिछाने र बसन्त रेग्मीले १-१ विकेट लिए।

सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए। त्यसअघि पहिलो ओभर बलिङ गर्ने मौका पाएका सोमपाल नेपालका लागि ओडिआईमा पहिलो बल फाल्ने खेलाडी समेत बने। यस्तै सोमपालले नै नेपालको लागि पहिलो मेडन ओभर फ्याँके।

ओपनर ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट गरे भने माइवर्गलाई सन्दीपले बोल्ड आउट गरे। वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए।

७४ रनमा ४ विकेट गुमाएको डच इनिङ्स उकास्न बास डे लिड र माइकल रिप्पोनले पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे। ३४औँ ओभरमा सोमपालले उक्त साझेदारी तोडेपछि नेपालले नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो। ३९औँ ओभरमा बसन्त रेग्मीले कप्तान पिटर सिलरलाई शक्ति गौचनको हातबाट क्याचआउट गराए। ४०औँ ओभरमा नेपालका कप्तान पारस खड्काले रिप्पोन र स्नाटरको विकेट लिएपछि १५९-८ को स्थितीमा पुगेको थियो। त्यसपछि करण केसीले १८ रन बनाएका स्कट एडवार्ड्सलाई आउट गरे भने सोमपालले फ्रेड क्लासेनलाई आउट गरेपछि डच टोली १८९ रनमै अलआउट भएको हो।

पहिलो विकेट लिएका सोमपालले नै नेपालको लागि अन्तिम विकेट समेत लिए।

पहिलो खेलजितेपछि नेदरल्याण्ड्सले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। दुई खेलको ओडिआई सिरिजमा नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग शुक्रवार खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell