PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अभिनेता आर्यन सिग्देलको फरक इन्ट्री भन्छन्, 'कायरा मौनतापछिको कोलाहल हो'



रीना मोक्तान

अभिनेता आर्यन सिग्देलको फरक इन्ट्री भन्छन्, 'कायरा मौनतापछिको कोलाहल हो'

अभिनेता आर्यन सिग्देलले फिल्म लेखनमा पनि हात हाले। उनको कथा तथा अभिनय रहेको फिल्म 'कायरा' युनिट प्रचार प्रसारमा व्यस्त छ। चक्लेटी अभिनेताको रूपमा चिनिएका उनको केही समययता कुनै चर्चा छैन। अब कायरा'मार्फत हुन लागेको फरक इन्ट्रीले उनको करियरलाई कस्तो मोड देला?

आर्यन सिग्देलले फिल्म लेखनको सुरुवाती दिन सम्झन्छन्, 'लक्ष्मण रिजालले फोनमा फिल्मी शैलीले बोलेको एउटै डायलगले मलाई कथा बनाउन प्रेरित गर्‍यो।' रिजालले उनलाई भनेका थिए- तिमीसँगै थियौ सम्बन्ध देखिनँ। एक्लो भएँ सम्बन्ध देखेँ, तिमीलाई देखिनँ।

'संवादले क्लिक गर्‍यो। यो त जिन्दगीमा सम्बन्धले दुखाएकाहरूले बोल्न सक्छन्।' त्यसपछि उनले कथा लेख्ने भए। कथाकी पात्र 'कायरा र जय'। कथामाथि फिल्म बन्ने भयो। जहाँ प्रेम जोडी भित्री पीडा लुकाएर बाहिर रमाइलो गर्छन्। जुन रमाइलो धेरै समय टिक्दैन। 

'फिल्मको पात्र जयमा म आफैँलाई पाउँछु', उनी पात्र र आफ्नो समानताबारे बोल्छन्, 'जब म रिसाइरहेको हुन्छु वा पीडामा हुन्छु तब रमाइलो गर्न मनपर्छ। अरूको अघि खुसी देखाउन मनपर्छ।'

कथाको केन्द्रमा भने कायरा पात्र छिन्। कायराको विभिन्न भाषामा फरक-फरक अर्थ छ। कायराको अर्थ कतै 'वरदान पाएकी केटी' कतै 'निर्दोष' त कतै 'सरल'।

आर्यनले सबै कुरामा सफल तर प्रेममा असफल दुई पात्रको कथा फ्लोरमा उत्रनु भन्दा १ वर्षअघि स्टोरीलाइन तयार गरेका थिए।

स्क्रिप्ट लेखनतर्फ आकर्षण भने 'नोभेम्बर रेन' र 'क्लासिकबाट' बढेको हो। 'छेतेन गुरुङसँग नोभेम्बर रेनको स्क्रिप्टमा बसेको थिएँ। 'छेतेन भन्नुहन्थ्यो तपाईँ चाहिँ स्क्रिप्टको डाक्टर हो', हाँस्दै सुनाए।

स्क्रिप्ट फाइनल भएसँगै फिल्मको लागि बोल्ड, झगडालु, इमोसनमा अभिनय गर्ने कलाकारको खोजी भयो। जसमा अभिनेत्री साम्राज्ञी शाह फिट भइन्। आर्यनले साम्राज्ञीलाई कथा सुनाए। स्क्रिप्ट छनोटमा माहिर साम्राज्ञीलाई कथा मन पर्‍यो। उनी काम गर्न राजी भइन्। स्क्रिप्ट तयार भएको डेढ वर्षपछि फिल्म बन्यो।

लामो समयपछि दर्शकमाझ प्रस्तुत हुन उत्साहित छन् आर्यन। भन्छन् 'कायरा मेरा लागि मौनतापछिको कोलाहल हो।'

मेरो प्रतीक्षामा रहेका दर्शकको आशालाई फिल्मले मिट गर्छ। मौन रहुन्जेल फिल्म क्षेत्र, यहाँको ट्रेन्ड र परिवर्तनहरू नियालेको उनले बताए। 'मेकिङमा परिवर्तन आए पनि इमोसनको पाटोमा हामी उस्तै रह्यौँ।'
पछिल्लो समय उनले काम गरेका फिल्महरू 'होमवर्क', 'रुद्रप्रिया' लगायत फिल्मले न चर्चा बटुल्न सक्यो न पैसा नै। त्यसैले आफ्नो फिल्ममा केही फरक तरिका अपनाएको उनको दाबी छ। 

फिल्मको ९५ प्रतिशत छायाङ्कन फिलिपिन्समा भएको छ। ४५ दिनको प्रोडक्सन फेजका लागि २५ जनाको टोली उतै गएको थियो। विदेशमा काम गर्न सुरक्षाको हिसाबले सजिलो भएको उनको अनुभव रह्यो। 'अनुमति लिएर सुटिङ गर्दा त्यहाँको सरकारले सुरक्षा पनि दियो।'

भाषाका कारण भने केही समस्या भएको सुनाए। भने,' एकअर्कालाई नबुझी काम गर्दा निकै गाह्रो हुने रहेछ।' अनि अर्को समस्या सिर्जना गरायो टाइफुनको संकेतले। छायाङ्कनका लागि फाइनल भएको ५० प्रतिशत रमणीय स्थल टाइफुनको संकेत आएपछि पुग्न सकेनन्। 'टाइफुनका कारण पानीजहाज चलेन। त्यहाँका अधिकांश आइल्याण्ड पुग्न सकेनौँ।'

दु:ख पाए पनि विदेशमा खिचेको कुरालाई महत्त्वमा राख्न आवश्यक नभएको तर्क राखे। भने,'हामीले कन्ट्री होइन कन्टेन्ट खिचेका हौँ।'

आफ्नो सबैसँग घुलमिल हुने बानीले फिल्म युनिटसँग काम गर्न निकै सजिलो भएको सुनाउँछन्। 'म छायाङ्कनको क्रममा कलाकार वा लेखक नभई टिमको सदस्यको रूपमा प्रस्तुत हुन्छु। यसले गर्दा किचनमा काम गर्नेदेखि स्पट र मेकअपसम्मका सबैले वातावरण सहज महसुस गर्छन्।'
फिल्ममा आर्यनद्वारा लिखित गीत पनि छ। फिल्मको प्लटसँग मिल्ने गीत।

'रङ्गीन दुनियाँमा रङ्ग छ, कहाँ छ उज्यालो छ, यहाँ संसार छ कहाँ।' गीतमा अटाएका शब्दहरू हुन्।

दर्शकका लागि भने आफू लभर ब्वाइ आर्यनकै रूपमा प्रस्तुत हुन लागेको सुनाउँछन्। दर्शकले आफूलाई लभ स्टोरीमा रुचाएका कारण उनीहरूको माग पुरा गर्न लागेको उनको तर्क छ। 

आर्यनको लागि कायरा निकै महत्त्वपूर्ण प्रोजेक्ट हो। आर्यन भन्छन् 'कायरा मेरो बच्चा, साथी, गल्फ्रेन्ड सबै हो।'

'कायरा'को ट्रेलर सार्वजनिक भएसँगै साहित्यकार सुविन भट्टराईले आर्यनलाई आफ्नो स्‍टाटर चोरेको आरोप लगाएका थिए। उनले फेसबुकमा पोस्ट गरेको लाइन र फिल्मको संवाद मेल खाएपछि स्क्रिनसट सहित सार्वजनिक रूपमा उत्रिए भट्टराई। तर, उक्त घटनालाई मजाकका रूपमा लिन्छन् आर्यन। उनले भने 'त्यो मजाक हो। न म उहाँसँग सोसल मिडियामा कनेक्ट छु, न मैले उहाँको कुनै कृति पढेको छु।'  उनका अनुसार त्यो बेतुकको आरोप हो। बेअर्थको कुरा हो।

पछिल्लो समय चक्लेटी हिरो आर्यनको क्रेज केही कम भयो। आर्यनलाई यस विषयमा सोध्यौँ। 'जिन्दगीमा आरोह अवरोह हुन्छ। भएन भने भोलि के सम्झने? त्यसलाई आत्मासाथ गर्न सकेन भने असफल भइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell