
ढाकाः ‘हो म यतिवेला समस्यामा छु। तर विद्यार्थीहरूको आन्दोलन जायज छ। सम्झनुस् म सडक किनारमा उभिएको छु; यदि बस म माथि गुड्यो भने के हुन्छ?,’ उपचारका लागि राजवारी देखि शाहबागको अस्पतालमा आएका एक बिरामी ऐनुद्धिनले भने।
विगत चार दिन देखि ढाकाको सडकमा उत्रिएका विद्यार्थीहरूका कारण यातायात पुरै अवरुद्ध छ। राजधानीसँगै देशका विभिन्न भागमा अहिले विद्यार्थीहरूको प्रदर्शन जंगली आगोको रूपमा फैलिएको छ। प्रदर्शनकारीहरू आफ्ना माग पूरा नहुँदासम्म ढाकाको सडक नछाड्ने अडान लिइरहेको बंगलादेशको पत्रिका दी डेली स्टारको अनलाइन संस्करणमा लेखिएको छ।
अघिल्लो दिन सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमन विरुद्ध हजारौँ विद्यार्थीहरू स्कुल तथा कलेज पोसाकमा स्कुलेझोलासहित सडकमा उत्रिए। ढाका सडकहरू अवरुद्ध भए। ट्राफिक जाम भयो।
मंगलबार पनि प्रहरीले प्रदर्शनकारीमाथि दमन गट्टयो। कम्तीमा २० जना घाइते भएका छन्। आज देशभरका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द छन्। ‘विद्यार्थीको सुरक्षा’का लागि भन्दै शिक्षण संस्थाहरू बन्द गरिएको शिक्षामन्त्री नुरुल इस्लाम नहिदले दी डेली स्टारसँग भनेका छन्।
आइतबार विमानस्थल अगाडि बाटो काटिरहेका दुई विद्यार्थीलाई बसले ठक्कर दिएर मृत्यु भएपछि सुरु भएको विद्यार्थी आन्दोलनले देशव्यापी रूप लिएको छ। आन्दोलनकारीले ७० भन्दा बढी गाडीमा तोडफोड गरेका छन्।
आफूलाई सडक अवरुद्ध भएका कारण समस्या परे पनि विद्यार्थीहरूको आन्दोलनमा देशभरबाट ऐक्यवद्धता आएको छ। विद्यार्थीहरूले यातायात मन्त्रीको पुत्लासमेत जलाएका छन्।
आइतबार भएको दुर्घटनामा दुई विद्यार्थीको मृत्यु हुनुका साथै ९ जना घाइते भएका थिए।
प्रहरीले बसका सञ्चालक शाहदत हुसेनलाई मंगलबार पक्राउ गरेको छ। यस अघि प्रहरीले तीन चालक र दुई सहचालकलाई पक्राउ गरेको थियो। दुर्घटना भिडमा तीन वटा बस एकापसमा ओभर टेक गर्दा भएको थियो।
विद्यार्थीहरू दिनभर सडकमा निस्किने गरेका छन्। उनीहरूले मलाई पक्राउ गरे म न्याय चाहन्छु भन्ने नारा लगाउँदै आएका छन्। द्यार्थीहरूले विमानस्थल अगाडिको सडक समेत अवरुद्ध गर्दा विमानस्थलसमेत प्रभावित भएको थियो।
सडकमा कुनै पनि सार्वजनिक बसहरू देखिएका छैनन्। विद्यार्थीहरूको सडक प्रदर्शनका कारण मंगलबार विमान बंगलादेशका ९ वटा उडान डिले गरिएको थियो। त्यस्तै दुई वटा उडान रद्द गरिएको विमान बंगलादेशका प्रबन्धक शकिल मेराजले जानकारी गराएका छन्।
धेरै यात्रुहरू विमानस्थलबाहिर अलपत्र परेका थिए। उनीहरू चार बजेपछि विद्यार्थीहरू सडकबाट निस्किएपछि आफ्नो गन्तव्य तर्फ लागेका थिए।