
काठमाडौँ : नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्दे 'हल अफ फेम' को बिहीवार उद्घाटन भएको छ। प्रधानसेनापत राजेन्द्र क्षत्रीले आज लगनखेलस्थित केन्द्रमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका हुन्।
नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो। उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ।
हल अफ फेमको निर्माणले खेलाडीहरुले विगतमा पुर्याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आबद्ध भएर योगदान पुर्याईरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीहरुलाई समेत प्रेरणा प्रदान गर्ने नेपाली सेनाको अपेक्षा रहेको जनसम्पर्क तथा सुचना निर्देशनालयकले जनाएको छ।
उद्घाटन कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ, पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीवृन्द, अधिकृत, भेट्रान खेलाडीहरु, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो।