PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेकपाका सबै कमिटीको एकता भदौ ५ भित्र, थप सात वटा कार्यदल गठन



विधुर ढकाल

नेकपाका सबै कमिटीको एकता भदौ ५ भित्र, थप सात वटा कार्यदल गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले सबै तहका कमिटीहरुको एकीकरण भदौ पहिलो साताभित्र गरिसक्ने भएको छ। ने क पाले सबै तहलाई एकीकरण भदौ ५ गतेभित्र सक्न निर्देशन दिँदै परिपत्र जारी गरेको हो। 

बिहीवार बालुवाटारमा बसेको दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै र महासचिव विष्णु पौडेलबीचको छलफलपछि यस्तो परिपत्र जारी भएको हो। ने क पाका एक अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले बिहीवार आयोजित एक कार्यक्रममा पार्टीका तल्लो तहका कमिटीको एकताका लागि गठित कार्यदललाई साउनको अन्तिमभित्र प्रतिवेदन पेश गर्न निर्देशनसहित परिपत्र गरिएको जानकारी दिए। 
बिहीवार विहान भएको दुई अध्यक्षसँगको छलफलपछि महासचिव पौडेलले पार्टीका सबै तहको एकताका लागि गठित कार्यदललाई परिपत्र जारी गरेका हुन्। 

परिपत्रमा साउन २५ गते भित्र सबै कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ। त्यस्तै सबै जिल्ला कमिटी तथा प्रदेश कमिटीको एकता भदौ ५ गतेभित्र गरिसक्ने र भदौ १५ भित्र सबै जिल्लाको पहिलो एकताको पूर्ण बैठक बस्न परिपत्रमा निर्देशन दिइएको छ। 

गत जेठ ३ गते पार्टी एकता भएपछि ७ गते सबै तहको कमिटीको एकताका लागि कार्यदल गठन भएका थिए। त्यस्तै १६ गते दुई अध्यक्षले सर्कुलर जारी गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। 

त्यस्तै सर्कुरलमा सबै जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्यदललाई समेत सोही मितिको म्याद दिएर काम गर्न निर्देशन दिइएको छ। निर्देशन अनुरुप सबै जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदलले समेत २५ गतेभित्र प्रतिवेदन बुझाउन ५ गतेभित्र एकता गर्न र १५ गते भित्र पहिलो बैठक बस्न निर्देशन दिइएको छ। 

यसैबीच विशेष जिल्ला कमिटीको एकीकरणका लागि थप कार्यदलहरु गठन भएका छन्। 

प्रदेश ३ का लागि गठन गरिएका कार्यदलका सदस्यहरु अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी, नारायण दाहाल सदस्य रहने गरी मजदुर विशेष जिल्ला कमिटी, युवा–विद्यार्थी विशेष जिल्ला कमिटी, पेशागत विशेष जिल्ला कमिटी, उद्यमी व्यवसायी विशेष जिल्ला कमिटी एकीकरणको लागि छुट्टा छुट्टै कार्यदल गठन गरिएको छ। 

मजदुर विशेष जिल्ला कमिटीका लागि प्रदेश ३ का कार्यदल सदस्यहरुसहित विना श्रेष्ठ, गणेश रेग्मी, बलराम खत्री र जगत सिम्खडा सदस्य रहेको कार्यदल बनेको छ। त्यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीका लागि माधव ढुंगेल, रमेश मल्ल, किशोरविक्रम मल्ल, वीरु तामाङ, पेशागत विशेष जिल्ला कमिटीका लागि राजन भट्टराई, मोहनमान स्वार, प्रेम पराजुली र हरि रावल तथा उद्यमी–व्यवसायी विशेष जिल्ला कमिटीका लागि मुकुन्द न्यौपाने, सूर्य थापा, कृष्ण आचार्य र शिव कट्टेल सदस्य रहेको कार्यदल बनेको छ। यी कार्यदललाई साउन २५ गते भित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। 

त्यस्तै सम्पर्क समन्वय कमिटी र प्रदेश सम्पर्क कमिटी गठनका लागि समेत छुट्टै कार्यदल बनेको छ। कार्यदलमा छविलाल विश्वकर्मा, विजय गुरुङ, श्रीकृष्ण अधिकारी र अर्जुन केसी सदस्य रहेका छन्। निर्माण व्यवसायी संगठनको एकीकरणका लागि विजय पौडेल, प्रकाश पोखरेल, खोपनिधि लोहनी र शिव चौलागाईँ सदस्य रहेको कार्यदल र स्वास्थ्यकर्मीहरुको एकीकरणका लागि गोकर्ण विष्ट, सुजिता शाक्य, अञ्जना विशंखे र कृष्णसागर पौडेल रहेको कार्यदल बनेको छ। यी सबै कार्यदललाई आफ्नो प्रतिवेदन साउन २५ गते भित्र केन्द्रीय सचिवालयमा पेश गर्न निर्देशन दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell